रत्ननगर (चितवन), १४ मंसिर । नेकपा–माओवादीबाट केही दिन अघि मात्र अलग्गिएको घोषणा गर्नुभएका नेता नेत्रविक्रम चन्द विप्लवले आफूहरू नयाँ क्रान्तिमा होमिएको उद्घोष गर्नुभएको छ ।
आइतबार चितवनको भरतपुरमा अगुवा कार्यकर्ता भेटघाटका क्रममा उहाँले नयाँ क्रान्तिमा सहभागी हुन अन्य पार्टीका कार्यकर्तालाई समेत आग्रह गर्नुभयो ।
तर कस्तो क्रान्ति भन्नेबारे भने उहाँले केही खुलाउनु भएन । नयाँ चरणको सङ्घर्ष सुरु भएको जनाउ दिँदै उहाँले जुनसुकै आन्दोलन गर्नुपरे पनि तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले क्रान्तिको नाममा अवसरवादीहरू हावी भएको र नेपाली जनताले परिवर्तनको कुनै अनुभूति गर्न नपाएकाले आफूले विद्रोहमा उत्रनुपरेको बताउनुभयो ।
अहिलेसम्म नयाँ पार्टीको नामको यकिन नगर्नुभएका उहाँले छिट्टै पार्टीको नाम घोषणा गर्नुहुने भेलामा सहभागी एक जिल्ला नेताले जानकारी दिएका छन् । उहाँले समय मिलेमा सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्यक्रमबारे जानकारी दिनुहुने भेलामा जानकारी गराइएको थियो ।















प्रतिक्रिया