६ कार्तिक २०८३, शुक्रबार

बागलुङमा पाँच शिक्षकको भरमा विद्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

schoolबागलुङ, १३ मंसिर । बागलुङको एक विद्यालयमा शिक्षक अभाव देखिएको छ ।

जिल्लाको तमान–८ को सरस्वती निमावि पाँच शिक्षकको भरमा चलेको छ । यसअघि सात शिक्षक रहेकामा दुई जनाले अवकाश लिएपछि पठनपाठनसमेत प्रभावित भएको हो ।

प्राथमिक तहका पाँचजना शिक्षकको दरबन्दी रहे पनि निमावि भने निजी स्रोतबाट चलेको विद्यालयले जनाएको छ । दरबन्दीका शिक्षक ज्ञानेन्द्र छन्त्यालले गत असोजबाट अवकाश लिएको र अर्का एक निजी स्रोतमा रहेका शिक्षकलाई विद्यालयले हटाएपछि शिक्षक सङ्ख्या घटेको छ ।

दुई सय ५० विद्यार्थीले अध्ययन गर्ने उक्त विद्यालयमा शिक्षक कम हुँदा समस्या भएको प्रधानाध्यापक कुमबहादुर छन्त्यालले बताए ।

“शिक्षक थोरै हुँदा समस्या भएको छ, एउटै शिक्षकले दोब्बर कक्षा लिनुपर्ने अवस्था छ” छन्त्यालले भने, “निमावि तहका एउटा दरबन्दी नहुँदा निजी स्रोतबाट तलब खुवाउन पनि धौ–धौ छ ।”

विद्यालयले गत वर्ष भएको दरबन्दी मिलानमा एउटा प्रावि तहको शिक्षक पाएको थियो । जिल्ला शिक्षा कार्यालयले आवश्यक व्यवस्था गरिदिएमा सहज हुने प्रअ छन्त्यालको भनाइ छ ।

दुर्गममा भएको कारण बाहिरबाट जाने शिक्षक लामो समयसम्म विद्यालय बस्न नचाहने प्रवृत्ति छ । प्रावि तहकै शिक्षकले निमावि तहको कक्षा हेरिरहेका छन् ।

“एउटै शिक्षकले कक्षा खप्टाएर पढाइरहेको छ, यसले अध्यापन र सिकाइमा पनि केही प्रभाव पर्छ”, छन्त्यालले भने । शिक्षक अभावको विषयमा जिल्ला शिक्षामा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको विद्यालय व्यवस्थापनको गुनासो छ ।

२०६७ मा निमावि तह सुरु गरेको विद्यालयको दिगो व्यवस्थापन र सञ्चालनका लागि थप दरबन्दीसहित शिक्षक व्यवस्था हुनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर विकले बताउनुभयो । शिक्षक मात्रै नभएर विद्यालयमा भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको पनि अभाव रहेको अध्यक्ष विकले उल्लेख गरे ।

विद्यालयको आम्दानीको स्रोत सीमित हुँदा निजी स्रोतका शिक्षकलाई तलब खुवाउन गाह्रो भइरहेको उनको भनाइ थियो । विद्यालयमा भर्ना दर भने सतप्रतिशत छ ।

विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको छन्त्यालले बताए । केही अपाङ्गता भएका बालबालिका भने विद्यालय आउन सकेका छैनन् ।

विद्यालयमा बाल विकास केन्द्र पनि सञ्चालित छ । बाल विकास केन्द्रमा ५४ जना बालबालिका रहेका छन् ।

वडा नं ९ को बाबा मन्दिर बाल विकास केन्द्र र ८ नं वडाको सरस्वती बाल विकास केन्द्र गाभेर एकै स्थानबाट सञ्चालन गरिएको छ ।