दीपक घिमिरे
लुम्बिनी (रुपन्देही), ९ मंसिर । श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्ष बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन तथा भ्रमणका लागि लुम्बिनी आउँदै हुनुहुन्छ ।
विश्व शान्तिको मुहान शाक्यमुनि बुद्धका जन्मस्थल लुम्बिनीप्रति निकै आस्था र विश्वास राख्नुहुने श्रीलङ्कन राष्ट्रपति राजापाक्ष देशको कार्यकारी पदमा पुगेपछि लुम्बिनीको दोस्रोपटक भ्रमण गर्दै हुनुहुन्छ ।
यसअघि सन् २०१० मा श्रीलङ्का सरकारले निर्माण गरेको विहारको उद्घाटन गर्न लुम्बिनी आउनुभएका राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासमा टेवा पु¥याउने उद्देश्यले लुम्बिनी प्रवेश गर्ने ४ नम्बर गेटको भित्रपट्टिको गेटर बाटो निर्माण गर्ने विषयमा सम्झौता गरेर जानुभएको लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्वो सेर्पाले जानकारी दिनुभयो ।
उहाँले सन् २०१० मा सम्झौता गर्नुभएको पुलको पनि उद्घाटन गर्नुहुने कार्यक्रमसमेत रहेको उपाध्यक्ष सेर्पाले जानकारी दिनुभयो । श्रीलङ्कामा पहिलोपटक चुनाव जित्दा संसद्मा गएर लुम्बिनीको विकासमा श्रीलङ्कनले सहयोग गर्नुपर्दछ भनेर आवाज उठाउनुभएका राष्ट्रपति राजापाक्षले लुम्बिनीको विकासका लागि सधैँ अगाडि रहनुभएको उपाध्यक्ष सेर्पाको भनाइ छ ।
अठाराँै सार्क सम्मेलनको पूर्वसन्ध्यामा लुम्बिनी आउन लाग्नुभएका राष्ट्रपति राजापाक्षले मायादेवी मन्दिरमा विशेष पूजा, श्रीलङ्काली तीर्थयात्री विश्रामगृह, श्रीलङ्का सरकारको सहयोगमा निर्मित पुलको उद्घाटन गर्नुका साथै श्रीलङ्काली विहार र लुम्बिनी बौद्ध विश्वविद्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति राजापाक्ष लुम्बिनी आउने भएपछि लुम्बिनीलाई सिङ्गारिएको छ भने सुरक्षा व्यवस्थासहितको अन्य सबै तयारी पूरा गरिएको रुपन्देही प्रशासनले जनाएको छ । लुम्बिनीमा सार्कका विशिष्ट पाहुनालाई स्वागत गर्न भौतिक निर्माण, सौन्दर्य र सुरक्षासँग सम्बन्धित सम्पूर्ण तयारी पूरा भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
राष्ट्रपति राजापाक्ष बिहानै विशेष हेलिकोप्टरबाट लुम्बिनी आउने कार्यक्रम रहेको छ । अन्य श्रीलङ्कन अतिथिहरू भने चार्टर विमानबाट गौतमबुद्ध विमानस्थल आउने र र लुम्बिनी जाने कार्यक्रम रहेको छ । सरकारले श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ ।
यस्तै कोषले लुम्बिनी विशिष्ट पाहुनाको हेलिकोप्टर अवतरण गर्न तीन हेलिप्याड निर्माण गरेको छ । हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मतसमेत गरिएको छ । राजापाक्षको भ्रमणको समयमा नेपाल–भारत सीमा एकतर्फी रूपमा बन्द गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।
भ्रमण समयमा नेपालबाट भारतमा जान सकिने तर भारतीय नाकाबाट नेपाल प्रवेशमा रोक लगाउन भारतीय सुरक्षाकर्मीलाई समेत अनुरोध गरिएको प्रजिअ पन्थीले जानकारी दिनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भए पनि श्रीलङ्कन राष्ट्रपतिको भ्रमणले लुम्बिनीमा भइरहेको तयारीले सार्थकता पाएको लुम्बिनीवासीको भनाइ छ । रासस















प्रतिक्रिया