काठमाडौँ, ५ मंसिर । संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउने उद्देश्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच शुक्रबार भेटवार्ता भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपाली काँग्रेस र नेकपा एमालेले बहुमतलाई आधार बनाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्ताव पेस गरेकामा आगामी दिन कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।
कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणाली र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षपाती एमाओवादी र संवैधानिक राजतन्त्रका हिमायती राप्रपा नेपालका अध्यक्षबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।
संवाद समितिमा संविधानमा देखिएका विवादित विषयलाई तत्काल टुङ्गो लगाउने विषयमा छलफल केन्द्रित रहेको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।
अध्यक्ष थापाले सत्तारुढ दलको प्रस्ताव संविधान बनाउने भन्दा पनि नबनाउने तर्फ केन्द्रित रहेको भन्दै प्रतिपक्षी दलबीच समान धारणा बनाएर जानुपर्नेमा जोड दिनुभएको थियो ।
संवाद समितिका सभापति डा बाबुराम भट्टराईले अनौपचारिक छलफललाई तीव्रता दिइरहनुभएका सन्र्दभमा विवादित विषयमा समान धारणा बनाउने र संविधानसभाको बैठक आह्वान गर्नुपर्नेमा दुवै शीर्ष नेता सहमत हुनुभएको बुझिएको छ ।
संवाद समितिमा काँग्रेस, एमालेलगायतका दलले पेस गरेको प्रस्तावलाई अनुसूचीको रुपमा संविधानसभामा पठाउन सकिनेमा दुवै नेता सहमत हुनुभएको थियो ।















प्रतिक्रिया