काठमाडौं, ३ मंसिर । मंगलबार भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेस बाँकेका सभापति स्वर्गीय अरूण कोइरालाको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काँग्रेसले जानकारी दिएको छ ।
अन्त्येष्टी अघि उहाँको पार्थिव शरीरलाई केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । दिउँसो एक बजेसम्म पार्टी कार्यालयमा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने ।
फोक्सोमा समस्या देखिएपछि उहाँलाई करिव एक महिनाअघि उपचारका लागि दिल्ली लगिएको थियो । उहाँको यसअघि ओपन हट सर्जरी गरिएको थियो । उहाँ प्रधानमन्त्री कोइरालाका काँइलो भाई हुनुहुन्छ ।
भारतीय हिन्दू विश्वविद्यालय (बिएचयू) बाट एमबिबिएस गर्नुभएका कोइरालाले वनारसमा बिपी कोइरालाको सानिध्यमा रही राजनीति सिक्नुभएको थियो ।
स्व. बोधप्रसाद कोइराला र स्व. कुमुदिनी कोइरालाको ६ जना छोराहरुमध्ये उहाँ काहिला छोरा हुनुहुन्छ । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको धर्मपत्नी किरण कोइराला नेपाल महिला संघ बाँकेको अध्यक्ष हुनुहुन्छ । कोइरालाको असामयिक निधनबाट नेपाली काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको भन्दै काँग्रेसले दुःख व्यक्त गरेको छ ।















प्रतिक्रिया