भीमदत्तनगर, ३ मंसिर । दार्चुलामा बाढीले बगाउँदा विस्थापित बनेका सरकारी कार्यालय पुनः स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् ।
बाढीले बगाएको डेढ वर्ष बितिसक्दासमेत कार्यालय पुनः स्थापना नहुँदा सेवाग्राही मारमा परेका हुन् ।
केही सरकारी कार्यालय भाडाका घरमा सञ्चालन भइरहे पनि गुणस्तरीय सेवा भने नपाएको सेवाग्राहीको गुनासो छ ।
आफ्नै भवन नहुँदा विभिन्न कार्यालयको प्रशासनिक तथा लेखाको काम प्रभावित भएकाले भवन निर्माणका लागि प्रयास भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्दराज पोखरेलले बताउनुभयो ।
यस्तै कतिपय कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहँुदा झनै समस्या सिर्जना भएको छ । दार्चुलाका आधा दर्जनभन्दा बढी सरकारी कार्यालय बाढीले बगाउँदा भाडाका घरमा सञ्चालन हुँदै आएका छन् ।
यसैगरी महाकाली नदीमा आएको विनाशकारी बाढीले बगाएको दार्चुला–तिङ्कर सडकखण्डको बाङ्गाबगड क्षेत्रको सडक पुनः निर्माणको काम गरिने भएको छ । सडक पुनः निर्माण नगरिँदा सो क्षेत्रमा महाकाली नदी किनारमा सुरु गरिन लागेको पक्की तटबन्ध निर्माणको काम सुरु गर्न समस्या भएकाले सडक पुनः निर्माणको कार्य गरिने भएको हो ।
बाङ्गाबगड क्षेत्रको पुनः निर्माणको जिम्मेवारी लिएका नरसिंह गोल्डेन निर्माण कम्पनीका ठेकेदार नरसिंह धामीले ट्र्याक खोल्ने काम सुरु गरिने र साथै दार्चुला–तिङ्कर सडकखण्डको राताकाठा भिरमा सुस्त गतिमा भइरहेको निर्माण कार्यलाई समेत तीव्रता दिने बताउनुभयो ।















प्रतिक्रिया