काठमाडौँ, २ मंसिर । भारतको राजधानी नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा उपचारको क्रममा निधन हुनुभएका स्वर्गीय अरुण कोइरालाको पार्थिव शरीरलाई बुधबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा सानेपामा राखिने नेपाली काँग्रेसले जानकारी दिएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाका भाई एवम नेपाली काग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको मंगलबार निधन भएको हो ।
उहाँ निमोनिया रोगबाट पीडित रहँदै आउनु भएको थियो । उहाँलाई सम्मान सहित अन्त्येष्ठि गरिने पनि काँग्रेसले जानकारी दिएको छ । फोक्सोमा समस्या देखिएपछि उहाँलाई करिव एक महिनाअघि उपचारका लागि दिल्ली लगिएको थियो ।
उहाँको यसअघि ओपन हट सर्जरी गरिएको थियो । उहाँ प्रधानमन्त्री कोइरालाका काँइलो भाई हुनुहुन्छ ।
भारतीय हिन्दू विश्वविद्यालय (बिएचयू)बाट एमबिबिएस गर्नुभएका कोइरालाले वनारसमा बिपी कोइरालाको सानिध्यमा रही राजनीति सिक्नुभएको थियो ।
स्व. बोधप्रसाद कोइराला र स्व. कुमुदिनी कोइरालाको ६ जना छोराहरुमध्ये उहाँ काहिला छोरा हुनुहुन्छ । उहाँको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
उहाँको धर्मपत्नी किरण कोइराला नेपाल महिला संघ बाँकेको अध्यक्ष हुनुहुन्छ ।
कोइरालाको असामयिक निधनबाट नेपाली काँग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको भन्दै काँग्रेसले दुःख व्यक्त गरेको छ ।















प्रतिक्रिया