इलाम, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीको कडा आलोचना गर्नुभएको छ ।
एमाले इलामको नवौ अधिवेशनलाई मंगलबार इलाममा सम्बोधन गर्दै ओलीले एमाओवादीलाई यतिका वर्ष जनताको रगतको होली खेलेर अझै नपुगेको आरोपसमेत लगाउनुभयो ।
‘यतिका समय जनताको रगतको होली खेलेर नअघाएको एमाओवादी अझै संविधानसभाबाट संविधान जारी गरे रगतको खोलो बगाउने धम्की दिइरहेको छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीको यस्तो धम्कीले संविधान निर्माण कार्य रोकिन्न, संविधान माघ ८ मै आउँछ ।’
एमाओवादी जसरी पनि संविधान जारी गर्न नदिने षडयन्त्रमा लागिरहेको भन्दै उहाँले माओवादीको धम्कीबाट डराएर देशलाई अराजकता र अन्योलमा राख्ने पक्षमा एमाले नभएका प्रष्ट पार्नुभयो ।
उहाँले सम्बोधनका क्रममा एमाओवादी नेता बाबुराम भट्टराईको पनि कडा आलोचना गर्नुभयो । ‘राजनीतिक संवाद समितिका अध्यक्ष बाबुराम भट्टराईले माओवादीको कार्यकर्ताको रुपमा मात्र काम गरेका छन,’ उहाँले भन्नुभयो, ‘बाबुराम माओवादीको आदेशमा चलेकाले समस्या भएको छ ।
उनले सभापतिको अधिकार दुरुपयोग गरिरहेका छन् ।’ उहाँले संविधान नबनाउने कसम खाएर आउनेहरुलाई असफल बनाईदिने समेत चेतावनी दिनुभयो ।















प्रतिक्रिया