काठमाडौँ, २ मङ्सिर । भारतको उत्तराखण्डस्थित नैनितालमा रहेको शेरउड कलेजमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय नेपाली छात्र सान प्रजापतिको मृत्यु विद्यालयको लापर्बाहीले भएको भन्दै तत्काल छानबिन गर्न उनका परिवारजनले माग गरेका छन् ।
भारतको दश उत्कृष्ट कलेजभित्र सो कलेज रहेको छ । सन् २०११ देखि सानले सो कलेजमा अध्ययन गर्दै आएका थिए । यसैक्रममा गत कात्तिक २८ गते शुक्रबार निमोनियाका कारण ती छात्रको निधन हुन पुगेको थियो ।
सानका आमा नीना श्रेष्ठ र दिदी तेजस्वी श्रेष्ठलगायत आफन्तजनले पत्रकार सम्मेलनमा सानकी आमाले भनिन्, ‘विद्यालयको चरम हेल्चेक्र्याईं र लापर्बाहीले गर्दा सानले अकल्पनीयरुपमा मृत्युवरण गर्नुप¥यो ।’
कलेजले समयमै सान बिरामी भएको जानकारीसम्म मलाई दिएन । समयमै उपचारका लागि सही अस्पतालमा पनि पु¥याएन, उनीले दुःखेसो पोखिन् ।
विद्यालय व्यवस्थापनले सानको उपचारका लागि सुरुमा स्थानीय हल्दवानी अस्पतालमा पु¥याएको थियो । त्यसपछि थप उपचारका लागि दिल्लीको फोर्टिज अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा भर्ना गरेको थियो । सानलाई अस्पतालमा भर्ना गरेपछि मात्र कलेजले मलाई जानकारी दियो, नीनाले भनिन् ।
हाल सो विद्यालयमा करिब ५०० नेपाली विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा सानका आफन्त चिकित्सक राजेशध्वज जिसीले सानको मृत्युको कारण निमोनिया र फोक्सोको सङ्क्रमणबाट भनियो तर छोटो समयमा नै ती कारणबाट मृत्यु हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समयमा कलेजले सानको स्वास्थ्य परीक्षण गरिदिएको भए यस्तो अवस्था आउने थिएन । बच्चाको मृत्युका बारेमा थप अध्ययन गर्नु आवश्यक छ ।’
कलेजका प्राचार्य अमनदीप सन्धुको व्यवहार सच्चियोस् र त्यहाँ अध्ययन गर्ने विद्यार्थीका अभिभावकले यस्तो दुःख व्यहोर्नु नपरोस् भन्नाका लागि आफूहरुले न्याय खोजिरहेको सानकी दिदी तेजस्वी श्रेष्ठले पत्रकार सम्मेलनमा भनिन् ।
सानको मृत्युको घटनाका बारेमा छानबिन गर्न माग गर्दै उनका परिवारजनले प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने तयारी गरेको उज्वलविक्रम थापाले जानकारी दिनुभयो ।
यसैबीच, सानका परिवारसहित सो कलेजमा अध्ययन गर्ने पूर्व विद्यार्थीले सानको मृत्युको घटनाका बारेमा छानबिन गर्न माग गर्दै मंगलबार भारतीय दूतावासलाई ध्यानाकर्षणसमेत गराएका छन् । रासस















प्रतिक्रिया