रत्ननगर (चितवन), २ मङ्सिर । चितवनको भरतपुर अस्पतालले निजी अस्पतालमा काम गर्न जाने चिकित्सकमाथि निगरानी गर्न थालेको छ ।
अस्पतालको काम नै छाडेर निजी क्लिनिकमा चिकित्सकहरु जाने गरेको गुनासो आएपछि चिकित्सकहरुमाथि निगरानी राख्न सुरु गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवराज भुर्तेलले जानकारी दिनुभयो ।
मध्यान्ह १२ बजे खानाको समय राखेरसमेत चिकित्सक जाने गरेको पाइएपछि अहिले बिहान ९ देखि २ बजेसम्म अस्पतालकै काममा व्यस्त हुनुपर्ने नियम बनाइएको र यदि नभएको पाए कारबाही गरिने डा भुर्तेलले बताउनुभयो । मध्यान्ह खाना खाने निहुँमा चिकित्सकहरु निजी क्लिनिकमा गएर बिरामी जाँच्ने गरेका थिए ।
उहाँले भन्नुभयो – हामी कुनै हालतमा गलत हुन दिँदैनौँ, तपाईं पत्रकारहरु सबैको मलाई सहयोग चाहिन्छ, अस्पतालमा धेरै सुधार गर्नेछु ।
साँझ तोकिएको समयमा पनि चिकित्सकहरु अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र बोलाएको बेलामा तुरुन्तै आउनुपर्ने नत्र कारबाहीको भागिदार बन्नुपर्ने उहाँको भनाइ छ ।
समयमै उपस्थित हुन चिकित्सकहरुलाई लिखित आग्रहसमेत गरिएको र अब अस्पताल व्यवस्थापन समितिले नै छड्के जाँचसमेत गर्ने अस्पतालले जनाएको छ । अस्पतालमा हाल ४९ जना चिकित्सक छन् । अस्पताल विकास समितिको तर्फबाट २१ जना चिकित्सक राखिएको छ ।
यसैबीच, अस्पतालले आफ्नो सेवालाई स्तरोन्नतिसमेत गर्ने भएको छ । अस्पतालले हाल चलिरहेको ३०० बाट ५०० शय्या बनाउन प्रक्रिया सुरु गरिएको डा भुर्तेलले बताउनुभयो ।
अन्य विविध विषयमा समेत सुधार गरेर अस्पतालको सेवालाई चुस्त पार्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल मध्यक्षेत्रकै मध्यमवर्गीय परिवारको उपचार केन्द्र बन्दै आएको छ । रासस















प्रतिक्रिया