रत्ननगर (चितवन), १ मङ्सिर । गैँडा तस्करीको आरोपमा मुद्दा खेपेर फरार हुँदै आएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच–सात वर्षदेखि नै फरार हुँदै आएका चित्रवन नगरपालिकाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी चितवन निकुञ्जलाई बुझाएको छ । साबिकको गुञ्जानगर–१ घर भई भरतपुर भोजाडस्थित भाइ कमल अर्यालको घरमा लुकिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा ४४ वर्षका मीनबहादुर अर्याल भनिने अर्जुन अर्याललाई पक्राउ गरी आइतबार निकुञ्जको जिम्मा लगाइएको चितवनका प्रहरी निरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो । निकुञ्जका रेन्जर लक्ष्मण रायको नेतृत्वमा आएको टोलीले उनलाई प्रहरी कार्यालयबाट थप कारबाहीका लागि निकुञ्ज लगेको छ ।
उनको बारेमा थप अनुसन्धानपछि कारागार पठाइने निकुञ्जले जनाएको छ । पछिल्ला समयमा यहाँ गैँडा तस्करहरु धमाधम पक्राउ पर्न थालेका छन् । जसका कारण निकुञ्जमा चोरी सिकारका घटनामा निक्कै न्यूनीकरण भएको निकुञ्जले जनाएको छ ।















प्रतिक्रिया