काठमाडौं, ३० कात्तिक । एमालेबाट असन्तुष्ट भएर संघीय समाजवादी पार्टीमा गएका काठमाडौंका पूर्वमेयर केशव स्थापित पुनः एमालेमै फर्किनुभएको छ ।
एमाले मुख्यालय बल्खुमा आइतबार आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थापितलाई पार्टीमा भित्र्याउनुभयो ।
स्थापितलाई टीका र खादा लगाएर स्वागत गर्दै ओलीले आफू प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको अध्यक्ष हुँदा महासचिव रहेर काम गरेदेखि नै नजिकबाट चिनेको भन्दै उहाँमा नयाँ विचार, गतिशीलता र रचनात्मक सोच रहेको चर्चा गर्नु भयो। स्थापितलाई ओलीसहित महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, नेता शङ्कर पोखरेलगायतले स्वागत गर्नुभएको थियो ।
गत संविधानसभा निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्थापितले काठमाडौं क्षेत्र नं. ६ मा एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईले स्थापना गरेको सङ्घीय समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको थियो । नेपाल प्रजा परिषद्का पनि अध्यक्ष रहिसकेका स्थापितले आफूलाई काम गर्ने अवसर चाहिएको बताउनुभयो ।
“म कागजको सिक्का होइन, चल्ने सिक्का हुँ, त्यही अनुसार प्रयोग गर्ने काम होस् । गुटबन्दीको सिकार भएर अवहेलनामा पर्नु नपरोस् ।”
स्थापितसँगै चिकित्सक डा खेम नेपाल, डा मधुसुदन शर्मा, निरज खत्री, रञ्जना शर्मा, निलम थापालगायतका १६१ जना एमाले प्रवेश गर्नुभएको हो ।
















प्रतिक्रिया