काठमाडौँ, ३० कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलबीच संविधान निर्माण प्रक्रियामा सहमति हुन नसके प्रक्रियामा जानुपर्ने दोहोर्याउनु भएको छ ।
भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले शनिबार राजधानीमा आयोजना गरेको ‘नहोस् कतै दुर्घटना हामी सबैको चाहना’ विषयक कार्यक्रममा उहाँले यस्तो दोहो¥याउनु भएको हो । उहाँले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न कुनै पनि कसर बाँकी नराखिने बताउनुभयो ।
सामाजिक तथा जातीय सद्भावलाई बिथोल्ने खालको जातीय राज्यको पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘पहिचान र सामथ्र्यका आधारमा राज्यको पुनःसंरचना गर्नुपर्दछ । त्यसका लागि सबै राजनीतिक दल तयार छन् । तर सद्भाव बिथोल्ने काम कहीँकतैबाट पनि हुनुहुँदैन ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि गर्नुभएको रोल्पा भ्रमणप्रति सङ्केत गर्दै नेता नेपालले सहमति जुटाउन लाग्नुपर्नेमा पूर्व कमाण्डर बोकेर सुरुङभित्र बस्छु भन्दै हिँड्ने प्रवृत्तिले राजनीतिक गत्यावरोधको अन्त्य नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रमुख राजनीतिक दलहरू विगतका सहमति र सम्झौतामा गम्भीर भएर संविधान निर्माणमा नलाग्ने हो मुलुक दुर्घटनाको निकट पुग्ने बताउनुभयो ।
उहाँले कमसेकम १२ बुँदे सहमतिदेखिका सहयात्रीका बीचमा न्यूनतम सहमति हुनुपर्ने र प्रक्रियामा जान पनि सबैको मतैक्य रहनुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया