काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री एवम् नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षक सुशील कोइरालाले मुलुकमा लोकतन्त्रले स्थायित्व पाएसँगै हरेक क्षेत्रले विकासको सुनिश्चितता प्राप्त गर्ने बताउनुभएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सातौँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले मुलुकमा राजनीतिक स्थायित्व, शान्ति र विकासका लागि सरकारले संविधानलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।
तोकिएकै समय माघ ८ गतेभित्र संविधान ल्याइने छ, संविधान ल्याउनमा आफूहरु सफलहुनेछौँ, त्यसका लागि सबैले सकारात्मक दृष्टिकोण राख्न आवश्यक छ, पत्रकारबाट पनि दलहरुबीच झगडा फैलाउने काम नहोस्– प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘समाजका प्रत्येक क्षेत्रमा अभाव नै अभाव रहेको समयमा प्राज्ञहरुको योगदानबाट नेपालको कला र संस्कृतिको रक्षा गर्ने कार्यमा ठूलो उपलब्धि हासिल भएको छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रतिष्ठानका संरक्षक दीपकचन्द्र अमात्यले भाषा, साहित्य, कला, नाट््य तथा गीत–सङ्गीत क्षेत्रको विकास गर्नु राज्यको दायित्व हो, भन्नुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट््य प्रज्ञाप्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ, प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा, प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकलगायतले बोल्नु भएको थियो ।















प्रतिक्रिया