३१ आश्विन २०८३, शनिबार

श्रीमती खोज्न ससुराली गएका ज्वाइँको ससुराको कुटाइबाट ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), ३० कात्तिक । उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

घरबाट श्रीमती मनमाया श्रेष्ठ हराएपछि श्रीमतीको खोजीमा शुक्रबार राति ससुराली पुगेका उनको ससुरा खड्गबहादुर एक्तेनसहित गाउँलेको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना विवरणअनुसार राति ससुराली पुगेका श्रेष्ठले झ्यालबाट ससुरालाई बोलाउने क्रममा चोर भन्दै ससुरासहित गाउँलेले मरणासन्न हुनेगरी कुटपिट गरेको बताइएको छ ।

ससुरा र गाउँलेको कुटाइबाट गम्भीर घाइते बनेका श्रेष्ठको स्थानीय एभरेष्ट अस्पतालमा उपचारार्थ लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारार्थ न्युरो हस्पिटल विराटनगर पु¥याइएको थियो ।

टाउकोमा गम्भीर चोट लागेको उनको अत्यधिक रक्तश्रावका कारण गएराति उपचारकै क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायब निरीक्षक यादवले जानकारी दिनुभयो ।

यता, कुटपिटमा संलग्न श्रेष्ठका ससुरासहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक श्रेष्ठका ससुरा दानाबारी–२ निवासी खड्गबहादुर, सोही ठाउँ निवासी पद्मबहादुर मगर, धनबहादुर साउदेन, अम्बिका घिमिरे, माधव सेन्च्युरी, सुभास लिङ्देन, तुलसी सेन्च्युरी र दानाबारी–७ निवासी कुमार राई रहेका छन् । रासस