
जोगीमारा (धादिङ), ३० कात्तिक । चेपाङ बालबालिका पढ्ने जलकन्या प्राथमिक विद्यालय अब पुरानो र जीर्ण दुईकोठे भवनमा सीमित रहने छैन, यहाँ छकोठे नयाँ भवन बन्ने भएपछि बेग्लै खुसी छ ।
स्थानीय ताकाथलीका ६० घरधुरीका गरी करिब ९० अल्पसङ्ख्यक समुदाय मानिने चेपाङ बालबालिका नयाँ भवन बन्ने खबरले दङ्ग छन् ।
यसका साथै सो विद्यालयसम्म अब पृथ्वीराजमार्गबाट गाडी चढेर पनि पुग्न सकिने भएकाले विद्यार्थी र अभिभावकमा दोहोरो खुसी छाएको छ ।
चार वर्षअघि एक रोपनी नौ आना जग्गामा निर्मित विद्यालयको पुरानो भवन भिरालो कान्लाका बीचमा बनाइएकाले देख्दै डरलाग्दो थियो ।
त्यहाँ बालबालिकालाई खेल्ने मैदान र पुस्तकालय त के शिक्षक कर्मचारीका लागि अलग्गै कार्यकक्ष पनि थिएन । भिरालो ठाउँको विद्यालय भवनका कारण निवर्तमान प्रअ अप्सरा डल्लाखेती आधा दर्जन पटक त कुर्सीबाट लडेका घटना पनि पुरानो भएको छैन ।
डल्लाखेतीकै कार्यकालमा थालिएका नयाँ भवन निर्माणका लागि सहयोग जुटाउने अभियानले अहिले सार्थकता पाएको छ । नेपालमा हालसम्म करिब ८० सामुदायिक विद्यालयको भवन निर्माण गरिसकेको एसियन फ्रेन्डसिप नेटवर्क (जापान)ले शनिबार विद्यालयलाई नयाँ भवनका लागि रु दश लाख दिने सम्झौता हस्तान्तरण भएको छ ।
सम्झौतालगत्तै नेटवर्कका अध्यक्ष इसिमारु योजुरीले भवनको शिलान्यास पनि गर्नुभयो । नेटवर्कका नेपाल अध्यक्ष गणेशमान लामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर चेपाङबीच एक वर्षभित्र नयाँ भवन बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
‘यस्तो ठाउँमा पनि मानिस बस्छन् र बालबालिका पढ्छन् भनेर मैले कल्पना पनि गर्न सक्दिन तर भिरपाखाका बाटो पछ्याउँदै आफैँ आइपुगेर हेरेपछि पत्याउन विवश भएँ ।’ योजुरीले भन्नुभयो– ‘आजका नानीहरूले राम्रोसँग पढ्न पाएनन् भने उनीहरूको भविष्य बन्दैन, त्यसकारण हामी सघाउन आएका छौँ, तपाइँहरूले पनि मिहिनेत गर्नुहोला । ’
नयाँ भवनका लागि सहयोग आउने आश्वासन पाएदेखि नै अभिभावकले पुरानो भवन भत्काएर भिरालो जमिनलाई खारेर फराकिलो ठाउँ बनाइसकेका थिए । गत वैशाखदेखि सो विद्यालयका विद्यार्थी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेपाङका घरको आँगनमा पढ्न थालेका थिए । विद्यालयको यस्तो दुरवस्थाको अन्त्यका लागि नेपाल चेपाङ सङ्घका केन्द्रीय सदस्य तिलक चेपाङले सरकार, पत्रकार र दातृ पक्षलाई गुहार्ने काम गर्दै आउनुभएको छ । गत मङ्सिर २८ गते सो विद्यालयमा भएको शिक्षा पत्रकारको भ्रमणपछि त्यहाँको समस्या थप सार्वजनिक भएको थियो ।
विसं २०६६ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु ५० हजार र जनश्रमदानमा विद्यालय भवन भएको थियो । त्यसको एक वर्षपछि विद्यालयले अनुमति पाएको थियो भने शिक्षकका लागि बजेट निकासा हुन नसकेपछि केही समय पढाइ नै बन्द हुन पुग्यो । अहिले स्थायी दरबन्दीसहित नयाँ प्रअ वासु सापकोटाले विद्यालयको प्राज्ञिक र प्रशासनिक नेतृत्व सम्हाल्नुभएको छ ।
उनीहरूलाई विद्यालयमा टिकाउन दिवा खाजा, छात्रवृत्तिलगायत कार्यक्रम भने सरकारले सञ्चालन गरिरहेको छ । भवन र शिक्षकका लागि शिक्षा कार्यालयमा धेरै पटक धाउँदा पनि विद्यालयले राहत पाउन सकेको छैन । बाँकी शिक्षक र कर्मचारीको तलबका लागि ढुङ्गाखानी सञ्चालन गर्ने स्थानीय अन्नपूर्ण कोइरिन प्रालिले राहतस्वरुप वार्षिक रु एक लाख दिनाका साथै विद्यालयसम्म कच्ची बाटाको निर्माणमा पनि सघाएको छ ।
पछिल्लो समय चेपाङ बालबालिका विद्यालयको पहुँचमा आउन थाले पनि उनीहरूलाई भौतिक पूर्वाधार र बालमैत्री वातावरणको निर्माणमा सरकार र दातृ निकाय उद्दत देखिएका छन् । विसं २०६८ को जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ६८ हजार छ भने जिल्लामा करिब १८ हजार छन् ।
जोगीमारा गाविसकै खोरभन्ज्याङको राष्ट्रिय माध्यामिकसम्म पुग्न साना विद्यार्थीलाई कठिन हुँदै आएको अवस्थामा आफ्नै गाउँमा विद्यालय खुलेपछि भर्नादर बढ्न थालेको भवन शिलान्यासमा पुगेका नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य कृष्ण डल्लाखेतीले बताउनुभयो ।
नेटवर्कको निमन्त्रणामा गत महिना शिक्षामन्त्री चित्रलेखा यादवसहितको नौ सदस्यीय टोली जापान पुगेर नेपालको शिक्षामा सहयोग गर्न आग्रह गरेको थियो । योजुरीको यस पटकको नेपाल भ्रमणमा नुवाकोट, रामेछाप, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा गरी दुई दर्जन विद्यालयको जग खडा गरिनेछ ।















प्रतिक्रिया