३१ आश्विन २०८३, शनिबार

समयमै संविधान आओस्, म भगवान् गौतम बुद्धसँंग प्रार्थना गर्छुः राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran Yadavबुटवल, २९ कात्तिक । राष्ट्रपति डा रामवरण यादवले बुद्ध धर्मलाई दर्शनका रूपमा व्यक्तिगत जीवनमा आत्मसात् गरेर विश्वव्यापी रूपमा फैलाउनुपर्ने बताउनुभएको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको एक समारोहका बीच उद्घाटन गर्नुहँुदै राष्ट्रपति डा यादवले बौद्ध एउटा धर्ममात्र नभई महत्वपूर्ण दर्शन पनि भएको चर्चा गर्नुभयो ।

उहाँले शान्तिका लागि बौद्ध दर्शनको विश्वव्यापी प्रचारप्रसारले विश्वलाई नै शान्तिको दिशामा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

राष्ट्रपति डा यादवले प्रविधिको विकाससँगै विश्वमा अशान्ति र ध्वङ्समा परिणत हुनु दुःखको विषय भएको बताउँदै प्रविधिलाई सकारात्मक रूपले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सम्मेलन बुद्ध दर्शन र लुम्बिनीको प्रचारप्रसारमा महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति डा यादवले नेपाल हिंसा र हतियारको राजनीतिबाट शान्तिको मार्गमा उन्मुख भइरहेको उल्लेख गर्दै नेपालको राजनीतिक परिवर्तनबाट विश्वले पाठ सिक्ने धारणा राख्नु भयो ।

उहाँले लुम्बिनीसँगै यससँग सम्बन्धित बौद्ध क्षेत्रको विश्वव्यापी प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

राष्ट्रपति डा यादवले राजनीतिक दललाई तीन करोड जनताको चाहनाअनुरूप समयमै संविधान निर्माण गर्न आग्रह गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर दलहरूले संविधान दिनुपर्छ, समयमै संविधान आओस् भनेर म भगवान् गौतम बुद्धसँंग प्रार्थना गर्दछु भन्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन लुम्बिनीमा आयोजना गरेर लुम्बिनी बारेमा प्रचारप्रसार गर्न सहयोग पुगेको बताउनुभयो ।

पर्यटन तथा नागरिक उडडयन र संस्कृति मन्त्री दीपकचन्द्र अमात्यले नेपाल सांस्कृतिक रूपमा धनी भए पनि प्रचारप्रसारको अभावमा पर्याप्त उपलब्धि हुन नसकेको धारणा राख्नु भयोे ।

सो अवसरमा म्यानमारका मन्त्री उ सो उइनले बुद्ध धर्मलाई प्रोत्साहित र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलनले बुद्ध धर्मका बारेमा थप जानकारी प्राप्त गर्ने अवसर मिल्ने बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय थेरावाद बुद्धिष्ट एसोसिएसनका अध्यक्ष डा आसिन न्यानिसारा, भिक्षु ज्ञानपूर्णिका महास्थवीर लगायतले बुद्ध धर्मको महत्व र लुम्बिनीको विकासका बारेमा बोल्नुभएको थियो ।

चार दिनसम्म हुने सम्मेलनमा ३० देशका करिब ४०० बौद्ध भिक्षु तथा बौद्ध विद्वानको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न विषयमा ९४ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

बौद्ध संस्कृति र सम्पदाको संवद्र्धन, सुरक्षा र संरक्षण विषयक सो सम्मेलन नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमाको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा भएको हो । रासस (तस्बिर उपलब्ध छ)