३१ आश्विन २०८३, शनिबार

ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामीको सरकारसँग वर्गीय आरक्षणको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २९ कात्तिक । ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामीसमेतको संयुक्त सङ्घर्ष समिति जुम्लाले सरकारसँग वर्गीय आरक्षणको माग गर्दै र्‍यालीसहितको सभा कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले अन्यमा पारिएका ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामी, दलितलगायतका आर्य खस समुदायलाई संविधानमा अधिकार समाहित गरी आदिवासीमा सूचीकृत गरियोस्, राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा, सुविधा सहयोग संरक्षण र आरक्षण जातीय आधारमा नभई हरेक क्षेत्रबाट विपन्नताका आधारमा वर्गीय रुपले गरियोस्, नेपाललाई धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन हिन्दू राष्ट्र कायम गरियोस्, भनी संयुक्त अधिकारको माग गर्दै एक र्‍यालीसहितको सभाको आयोजना गरेकोे छ ।

राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि गरिएको सद्भाव सभाको सहभागीहरुलाई सम्बोधन गर्दै ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष रमानन्द न्यौपानेले जातीय राज्यको आवश्यकता नभएको भन्दै आरक्षणसहितको वर्गीय राज्य कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले ब्राह्मण, क्षेत्री, दशनामी, ठकुरी र पछाडि पारिएका दलितसमेतलाई आदिवासीमा सूचीकृत नगरे सङ्घर्षका कार्यक्रम अगाडि बढाइने चेतावनी दिनुभयो ।

क्षेत्री समाज जुम्लाका उपाध्यक्ष अनुप थापाले नेताहरुले विदेशीको इशारामा देश टुक्र्याउने षडयन्त्र गरेको आरोप लगाउँदै यसको रहस्य पत्ता लगाई देशलाई वैदिक सनातन जडित हिन्दू राज्यमा स्थापनाका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

सभामा बोल्ने सबै वक्ताहरुले जातीय राज्यको अवधारणाले साम्प्रदायिक झडप ल्याउने भन्दै वर्गीय राज्य हुनुपर्नेमा जोड दिएका थिए । रासस