प्युठान, २७ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले संविधान नबनाउने खेलमा लागेकाले शान्तिपूर्ण आन्दोलनको तयारी थालेको बताउनुभएको छ ।
रोल्पा भ्रमण सकेर राजधानी फर्कने क्रममा प्युठानको जस्पुरमा स्थानीय कार्यकर्तासँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले काँग्रेस र एमालेले १२ बुँदे समझदारीबाट पछि फर्किन र बेइमानी गर्न थालेकोे बताउनुभयो ।
‘काँग्रेस र एमालेले बेइमानी गर्न खोजेका छन्,’ उहाँले भन्नुभयो, ‘बेइमानीको विरुद्धमा शान्तिपूर्ण विद्रोहको तयारी थालिएको छ ।’
चार दिनसम्म रोल्पामा रहेका अध्यक्ष दाहालले काँग्रेस र एमालेले सहमतिहरु उल्ट्याउने गरी अगाडि बढ्ने लक्षण देखाएका भन्दै अर्को शान्तिपूर्ण विद्रोहमा जुट्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो ।
आफूले बुधबार बिहान रोल्पाबाट प्रधानमन्त्री सुशील कोइरालासँग फोनमा कुराकानी गरेको र सहमतिका लागि तत्काल काठमाडौँ आउन प्रधानमन्त्रीले आग्रह गरेका कारण भ्रमण दिन छोट्टाएको जानकारी दिँदै उहाँले प्रधानमन्त्री कोइरालासँग सहमति गर्न आफू तयार रहेको बताउनुभयो ।
काँग्रेस र एमालेले प्रस्तुत गरेका सात प्रदेशको प्रस्ताव फिर्ता हुनै पर्ने माग अघि सार्दै उहाँले प्रदेश, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमति खोज्न हदैसम्मको लचकता अपनाउने बताउनुभयो ।
यस्तै, उहाँले संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति र आफ्नै पार्टी नेतासमेत रहनुभएका डा बाबुराम भटराईलाई पनि फोन गरी सहमतिका लागि प्रयास जारी राख्न बुधबार आग्रह गरेको जानकारी दिनुभयो ।
भोलि बस्ने उच्चस्तरीय राजनीतिक समितिको बैठकमा सहभागी हुन र नयाँ सहमति कायम गर्न प्रयास गर्न आफू हतारमा राजधानी फर्कन लागेको उहाँले बताउनुभयो ।
यसैबीच, अध्यक्ष दाहालले नेकपा–माओवादीमा देखिएको विवाद सामान्य भएको भन्दै आफ्नै पुरानो घरमा फर्किए विवाद समाधान हुने बताउनुभएको छ । माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको छुट्टै भेलाले उहाँहरुमध्ये एक समूह माउ पार्टीमै फर्किन खोजेको र अर्को समूह पनि फर्किने सोच बनाउँदै गरेको दाबी गर्नुभयो ।
उहाँले रोल्पामा रहँदा युद्धका क्रममा बास बसेका घर, बङ्कर र छलफल स्थलको समेत अवलोकन गर्नुभएको थियो । रासस















प्रतिक्रिया