३१ आश्विन २०८३, शनिबार

१६ हजार वटा भेडा चरनका लागि बेसी झारियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखाबजार, २६ कात्तिक । गोरखाको उत्तरी गाविसका विभिन्न खर्कमा रहेका भेडी गोठ हिउँद लागेसँगै बेसी झार्न थालिएको छ ।

हिउँ पर्न थालेपछि चिसो बढेको र घाँसे भूमि हिउँले ढाकिएपछि भेडालाई बेसी झार्न थालिएको हो । उत्तरी सात गाविसका विभिन्न खर्कमा चर्दैै आएका भेडालाई गुम्दा, लाप्राक, बारपाक, भच्चेक लगायतका ठाउँमा झार्न थालिएको भेडा पाल्दै आएका किसान  लोप्साङ गुरुङले जानकारी दिनुभयो ।

‘लेकतिर हिउँ परेपछि घाँस पुरियो’–लोप्साङले भन्नुभयो–‘चिसो बढेपछि भेडा र गोठाला दुवैलाई गाह्रो पर्छ । त्यसैले बेसी झरेका हौँ ।’ सिर्दिवास क्षेत्रमा चराउँदै आएका भेडा सिरानडाँडा, नम्की, हंरपुर क्षेत्रमा झारेको धर्के गुरुङले बताउनुभयो ।

दुर्गम गाविसबाट भच्चेकमा मात्रै चार हजारभन्दा बढी भेडा झारिएको भन्दै गुरुङले भन्नुभयो–‘नौ दिन हिँडेर भेडा र हामी भच्चेक आइपुगेका हौँ ।’ भेडालाई लमजुङसम्म पनि लैजाने भेडाको रेखदेख गर्दै आएका गोठालाले बताएका छन् । चिसोबाट जोगाउन बेसी झारेको समयमा भेडाको बिक्री हुने र मनग्य आम्दानी हुने गुरुङको भनाइ छ । एउटै भेडालाई रु १५ हजारसम्म बिक्री हुने गोठालाले बताएका छन् । भेडालाई मासु र ऊन प्रयोजनका लागि मानिसले महँगो मूल्य तिरेर किन्ने गरेका छन् । भेडाभन्दा साँढे (भाले)को मूल्य बढी पर्ने उनीहरूको भनाइ छ ।

भेडा गोठालालाई खानेबस्नेको कुनै चिन्ता हुँदैन । जसको बारीमा भेडा चराउने हो त्यो बारी धनीले गोठालालाई बिहान–बेलुकी भातको व्यवस्था गरिदिन्छन् । भेडा गोठालाले भने भेडाको मल जग्गाधनीलाई दिने चलन चल्दै आएको छ । भच्चेक क्षेत्रमा हिउँदमा १६ हजार वटा भेडा चरनका लागि लेकबाट झारिन्छ । रासस