३१ आश्विन २०८३, शनिबार

‘लेखक दुनियाँ’मा सबै वक्ता, सबै श्रोता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ashok-Silwal

काठमाडौं, २३ कात्तिक । साहित्यिक कार्यक्रमहरुमा प्राय पट्यारलाग्दा मन्तव्य सुन्दै श्रोताले मन नलागे पनि ताली बजाइरहनुपर्ने अघोषित परम्पराबीच शनिबार राजधानीमा एक यस्तो कार्यक्रम सम्पन्न भयो जसमा सबै वक्ता श्रोता र सबै श्रोता वक्ता थिए । कार्यक्रमको विषय थियो– लेखक दुनियाँ र अबको नेपाली लेखन ।

नेपाली साहित्यको दृश्य उतारिएको पत्रकार अशोक सिलवालको पुस्तक ‘लेखक दुनियाँ’ र अबको नेपाली लेखन विषयक सो अक्षर अन्तरक्रियामा दर्जन युवा लेखकले सुने र सुनाए । लेखक सिलवालले ‘लेखक दुनियाँ’मार्फत नेपाली लेखन जगत चिहाउने प्रयास गरिएको सुनाउँदै अबको नेपाली लेखनबारे बहुआयमिक बहस आवश्यक भएकोमा जोड दिए । यसअघि ‘कलम’ लेखका उनले पीडा, विछोड र गरिबीमा आधारित भएर मात्र होइन, अन्य आयामबाट पनि पुस्तक लेखिनु पर्ने बताए । तर, अधिकाँश वक्ताले अबको नेपाली लेखनबारे भन्दा पनि सिलवालकृत ‘लेखक दुनियाँ’माथि बढी चर्चा गरे । उनीहरुले पुस्तक लेखक दुनियाँ नेपाली साहित्यमा नवीन र प्रभावकारी प्रयोग भएको बताए ।

‘लेखक दुनियाँ’मा सिलवालको सिग्नेचर प्रष्ट देखिएको बताउँदै पुस्तकको सम्वाद अग्र्यानिक भएको शेखर खरेलले तर्क गरे । पुस्तकमा लेखक सिलवाल र पात्र ध्रुवचन्द्र गौतम दुवै उत्तिकै इमानदार देखिएको उनको ठम्याई थियो । पत्रकारले लेखेको पुस्तक पढ्न सजिलो हुने सन्दर्भ सुनाउँदै व्याकुल पाठकले यो पुस्तक त्यस्तै भएको बताए । साहित्यका विद्यार्थीहरुका लागि यो पुस्तक बिना जामको राजमार्ग भएको टिप्पणी अर्का वक्ता ठाकुर बेल्बासेको थियो । पढ्दा पढ्दै पुस्तक टुँगिएको प्रसंग सुनाउँदै अच्युत कोइरालाले पुस्तक छोटो भएको अनुभव सुनाए । स्वागत नेपालले यो पुस्तकले लेखनमा नयाँ धार भित्र्याएको बताए । पुस्तकका पंक्ति पंक्ति स्वादिलो भएको उनको भनाई थियो ।

लेखक भगवान हुन्, त्यसैले लेखन जिम्मेवार हुनुपर्ने बताउँदै सिलवालकृत ‘लेखक दुनियाँ’मार्फत आफुले नेपाली लेखक जगतलाई नजिकबाट बुझ्न पाएको बलदीप प्रभाश्वर चामलिङले बताए । श्याम रिमालले पुस्तक अन्तरंग शैलीमा भए पनि उपन्यासजस्तो भएको टिप्पणी गरे । असीम खनालले यसअघिको सिलवालको पुस्तक ‘कलम’ले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याएको र लेखक दुनियाँ लेखकको जिन्दगी बुझ्ने आँखीझ्याल सावित भएको बताए ।

आयोजक संस्था घोष्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले यस्तो खालको अक्षर अन्तरक्रिया अब मासिक रुपमा संचालन गर्ने बताउँदै ‘लेखक दुनियाँ’ नेपाली लेखन जगतमा एउटा नयाँ र सिर्जनशील प्रयोग भएको बताए । कार्यक्रममा नवराज अधिकारी, श्रीधर न्यौपाने, दर्शन देवकोटालगायतले पनि आ–आफ्नो धारणा व्यक्त गरे ।