काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेसका मधेस केन्द्रित सभासद् तथा केन्द्रीय सदस्यहरुले पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।
केही दिन अघि काँग्रेसले नेकपा एमालेसहितका दलसँग मिलेर ल्याएको ७ प्रदेशको साझा प्रस्ताव पार्टी निर्णय विपरीत भएको भन्दै आइतबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर उनीहरुले प्रधानमन्त्री एंव पार्टी सभापति कोइरालालाई त्यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएपछि करिव ३ घण्टा कुराकानी गरेका थिए ।
‘पार्टीको महासमिति बैठकले गरेको निर्णयविपरीत काँग्रेसले सात प्रदेशको अवधारण ल्याएको भन्दै हामीले प्रधानमन्त्री कोइरालालाई जानकारी गरायौँ,’ सभास्द चन्दमोहन यादवले दैनिक नेपालसँग भन्नुभयो,’ उहाँ हाम्रो मागप्रति सकारात्मक हुनुहुन्छ ।’
कोइरालासँगको भेटमा उनीहरुले महासमिति बैठक र केन्द्रीय समितिले गरेको निर्णयअनुसार पार्टीलाई अघि बढाउन माग गरेका थिए ।
यादवले छलफलका क्रममा वरिष्ठ नेता शेरवहादुर देउवा, उपसभापति रामचन्द्र पौड्याललगायतको सहभागिता रहेको बताउनुभयो ।
‘सौहार्दपूर्ण वातावरणमा छलफल भयो,’ यादवले भन्नुभयो, ‘उहाँहरुले पनि हाम्रो मागप्रति पुनः बसेर छलफल गर्ने आश्वासन दिनुभएको छ ।’
पार्टीको कुनै पनि निकायमा छलफलै नगरी एक्कासि झापा, चितनव र कञ्चनपुरलाई छुट्ट्याएर दुई प्रदेश बनाउने निर्णयबाट तराईका जनताको अवमूल्यन भएको भन्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
नवलपरासीमा भएको पार्टीको महासमिति बैठकले झापादेखि कञ्चनपुरसम्म समेटेर तराईमा तीन प्रदेश बनाउने निर्णय गरेको भन्दै त्यसलाई लत्याएर स्वनिर्णय गर्ने अधिकार नेताहरूलाई नभएको उनीरुले बताउँदै आएका छन् ।
नवलपरासीमा भएको पार्टी महासमिति बैठकले पहाडमा चार र तराईमा तीन प्रदेश हुनुपर्ने सुझाव पारित गरेको थियो ।
उनीहरूले मधेसमा दुई प्रदेश बनाउने पार्टीको धारणाप्रति एमालेका मधेसी सभासद्हरूसँग पनि परामर्श गरेर साझा धारणा बनाउने बताएका छन्।
अभियानको नेतृत्व केन्द्रीय सदस्य समेत रहेका सभासदद्वय फरमुल्लाह मन्सुर र अमरेश सिंहले गरेका छन् । उनीहरुले अभियानमा ५० बढी सभासद्को हस्ताक्षर भएको दाबी गर्दै आएका छन् संविधानसभामा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका ५७ सभासद् छन् ।
स्रोतका अनुसार अभियानमा मन्सुर, यादव, सिंहसँगै राष्ट्रपति डा। रामवरण यादवका छोरा चन्द्रमोहन यादव, सीताराम मेहता, राजेन्द्र अमात्य, अमृत अर्याल, रामअयोध्याप्रसाद यादव, तेजुलाल चौधरी, गणेश मण्डल, प्यारेलाल राना, रामचन्द्र चौधरी, राधेचन्द्र यादवलगायत छन् ।
त्यस्तै, सुरेन्द्र चौधरी, ताराकान्त चौधरी, सुरेन्द्र यादव, पद्मनारायण चौधरी, कविता सरदार, बादशाह कुर्मी, मिनाक्षी झा, मधु शाही, रश्मि ठाकुरलगायतले पनि हस्ताक्षर गरेका छन् ।
उपाध्यक्ष चित्रलेखा यादव, विमलेन्द्र निधि, महेश आचार्य, बालकृष्ण खाँडले पनि हस्ताक्षर गर्ने आश्वासन दिएको उनीहरुको दाबीछ ।















प्रतिक्रिया