३१ आश्विन २०८३, शनिबार

एमाओवादीको सबैतिर आलोचना र खण्डन गर्न ओलीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-finalकाठमाडौं, २२ कात्तिक ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी प्रवृत्तिको सबैतिर आलोचना र खण्डन गर्न केन्द्रीय नेताहरुलाई निर्देशन दिनुभएको छ ।

एमाले मुख्यालय बल्खुमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको गलत प्रवृत्तिको आलोचना र खण्डन गर्न नेताहरुलाई निर्देशन दिनुभएको हो ।

‘संविधानका सम्बन्धमा सहमति पनि हुन नदिने, सहमति नभएको अवस्थामा प्रक्रिया पनि सुरु हुन नदिने र उल्टै एमाले लगायतका दलहरुलाई संविधान बन्न नदिने शक्ति भन्दै आक्षेप लगाएर सडकमा मोर्चाबन्दी गर्दै हिड्ने एमाओवादी लगायतका पक्षको गलत प्रवृत्तिलाई सबैतिर आलोचना र खण्डन गर्नुस्’- ओलीले आफ्ना पार्टीका केन्द्रीय नेताहरुलाई भन्नुभयो ।

नेकपा एमाले, नेपाली कांग्रेस लगायत दलले प्रस्तुत गरेको प्रस्तावले अमूर्त छलफलको अमूर्त र अनन्त शृङ्खलालाई तोड्दै मूर्त, ठोस र व्यवहारिक रुपमा वार्ता अगाडि बढाउने आधार सिर्जना गरेको भन्दै उहाँले यसले अन्य दललाई सहमतिमा आउन दबाब सिर्जना गरेको बताउनुभयो । माघ ८ गते संविधान जारी गर्ने भरपर्दो आधारशीला निर्माण गरेको ओलीले बैठकलाई जानकारी गराउनुभयो ।

अध्यक्ष ओलीले संघीयतामा सात प्रदेशमाथि जान नसकिने पनि प्रष्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी एमाओवादी लगायतका दलले काँग्रेस र एमालेले ल्याएको सात प्रदेशको प्रस्ताव अस्वीकार गर्ने चेतावनी दिइरहेका बेला ओलीले भन्नुभयो- ‘संघीयतामा जाँदा सातभन्दा बढी प्रदेश स्वीकार्य हुँदैन । सात प्रदेशबाट घटाउन सकिन्छ तर बढाउन सकिन्न ।’ उहाँले धेरै प्रदेश मुलुक धान्न नसक्ने भन्दै सात प्रदेशबाट कम गर्ने विषयमा मात्र एमाले छलफल गर्न तयार रहेको दाबी गर्नुभयो ।

सकभर पूर्ण सहमतिका साथ, त्यसो हुन नसके पर्याप्त बहुमत र अधिकतम पक्षको सहमतिका आधारमा संविधान जारी हुने बताउँदै उहाँले निर्धारित समयभित्र संविधान जारी हुन सकेन भने मुलुकको राजनीति अर्कै बाटोमा अगाडि बढ्न सक्ने खतराप्रति सजग हुन सबै पक्ष गम्भीर र संवेदनशील हुन आग्रह गर्नुभयो ।

मुलुकलाई एकथान संविधान नभई राष्ट्रिय एकता सुदृढ गर्ने, लोकतन्त्रलाई दिगो गर्ने र सबै नेपालीलाई समान अधिकार, समान अवसर, समान सुरक्षा र समान सम्मानको ग्यारेण्टी गर्ने संविधान चाहिएको भन्दै उहाँले संविधानले सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि आधुनिकीकरणको बाटो खोल्नु पर्ने बताउनुभयो ।

निर्धारित समयमा संविधान जारी गर्न पार्टीले अधिकतम पहल, सघन प्रयत्न र निर्णायक भूमिका खेल्नुपर्ने भन्दै एमाले केन्द्रीय कमिटी बैठक आगामी मंसिर २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।