काठमाडौँ, २२ कात्तिक । समसामयिक राजनीतिका सवालमा फरक–फरक धारमा देखिएका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र एमाओवादीका अध्यक्षहरु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समीक्षा गरी भविश्यको साझा गन्तव्य खोजी गर्नमा भने वैचारिक रुपमा एकै ठाउँमा देखिएका छन् ।
एमालेको मुखपत्र ‘नवयुग’ मासिकको प्रकासोन्मुख अन्तर्राष्ट्रिय कम्युनिस्ट विशेषाङ्कका लागि सो पार्टीको संसदीय दलको कार्यालयमा शनिबार आयोजित ‘राउन्ड टेबल’ कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विश्व परिवेशलाई आँकलन गरेर नेपालका कम्युनिस्ट शक्तिबीचको सहकार्य हुनुपर्नेमा जोड दिनुभएको हो ।
सो पत्रिकाका सम्पादक तथा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले भन्नुभयो, ‘दुवै नेताबीच अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे समीक्षा गर्दा जोड र कोणमा केही फरक होला तर कम्युनिस्ट आन्दोलनको भविष्य सुनिश्चित गर्न सहकार्य गर्नुपर्नेमा समानता देखिएको छ ।’ दुवै अध्यक्षबीच डेढ घन्टा लामो संवाद भएको थियो ।
नयाँ संविधान निर्माणका विवादित अन्तरवस्तुमा आपसमा असहमत देखिएका एमाले र एमाओवादीका अध्यक्षहरु यस प्रकारको संवादमा पहिलोपटक जुट्नुभएको हो ।
नेपाली काँग्रेस र एमालले संयुक्त रुपमा प्रस्तुत गरेको सङ्घीयता, शासकीय स्वरुपलगायतका विषयमा एमाओवादी र मधेसवादी दलले असहमति जनाएपछि संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले निर्णय गर्न सकेको छैन । रासस















प्रतिक्रिया