काठमाडौँ, २२ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबाटै राजनीतिक अस्थिरताको अन्त्य हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् पूर्व मन्त्री सिद्धराज ओझाको श्रद्धाञ्जलि सभामा उहाँले निर्धारित समयमा संविधान जारी गरी देशलाई समृद्धिको मार्गमा लैजानुपर्ने बताउनुभयो ।
संविधान निर्माणका लागि दलहरुबीच अधिकतम सहमतिको प्रयास भएको जानकारी गराउँदै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री कोइरालाले कसैको डर धम्कीबाट संविधान निर्माण प्रक्रिया नरोकिने उल्लेख गर्नुभयो ।
सहमति तथा सहकार्यका माध्यमबाट नेपालमा शान्ति प्रक्रियाको थालनी भएकामा जोड दिँदै उहाँले आफ्नातर्फबाट त्यही कुरालाई उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।
इमान्दारिता र निष्ठाको राजनीतिलाई आफ्नो जीवनमा प्राथमिकता दिएका स्वर्गीय ओझाको जीवनीबाट धेरै कुरा सिक्न सकिने उहाँको भनाइ थियो ।
जारी संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनसके नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका ओझाप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सिद्धराज ओझाले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि गरेको सङ्घर्ष नेपालको इतिहासमा जीवन्त रहिरहने बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली जनताको भावनाअनुरुप देशलाई लोकतान्त्रिक संविधान दिएर समृद्धिको मार्गमा अघि बढाउनुपर्र्ने धारणा राख्नु भयो ।
नेपाली काँग्रेस डोटी जिल्ला सभापति वीरबहादुर बलायर, नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी र पारश ओझाले प्रत्येक राजनीतिकर्मीका लागि स्वर्गीय ओझा प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो ।















प्रतिक्रिया