२९ आश्विन २०८३, बिहिबार

४० हजार किलो मिटर गुड्ने गोरखकाली टायर किन बिकेन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorakakali- tayar गोरखा बजार, २० कात्तिक । अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा गोरखकाली रबर उद्योगमा उत्पादन भएको टायरको बिक्री ठप्प भएको छ ।

उद्योगले ट्युवलेस (रेडियल) टायर उत्पादन गर्न नसक्दा टायर बिक्री ठप्प हुँदै आएको हो ।

‘अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा टायर बिक्री हुन सकेन’ उद्योगका निमित्त महाप्रबन्धक कामेश्वर यादवले भन्नुभयो, ‘उत्पादन भएको टायर बिक्रीका लागि तीन पटक टेन्डर आह्वान गरिसक्याँै बिक्री नै भएन ।’

गोरखकाली टायरको भन्दा भारतीय टायरको मूल्य सस्तो भएपछि बिक्री ठप्प भएको यादवको भनाइ छ । ‘ठूलो टायरलाई उद्योगमा रु ३५ हजार पर्छ’ उहाँले भन्नुभयो, ‘सोही आकारको भारतीय टायर बजारमा रु ३३ हजारमा पाएपछि हाम्रो टायर बिक्री हुन छाड्यो ।’ टायर उत्पादन गर्ने नेपालको एकमात्र उद्योग गोरखकाली रबर उद्योगले अहिलेसम्म वायस नाउँको टायर मात्रै उत्पादन गर्दै आएको छ ।

‘ट्युवलेस टायर उत्पादन गर्ने मेसिन उद्योगमा छैन’ यादवले भन्नुभयो, ‘भएका पुराना मेसिनहरू पनि जीर्ण भइसके । आवश्यक मर्मत गर्न सकिएको छैन ।’ उत्पादन भएका टायर बिक्री नभएपछि अहिले उद्योग बन्द छ । करोड खर्चेर मेसिन ल्याउन सकेमात्रै उद्योगबाट उत्पादित टायर सजिलै बिक्री हुने उहाँको भनाइ छ ।

उद्योगले उत्पादन गरेको करिब दुई हजारवटा टायर बिक्री नभएपछि स्टोरमा राखिएको छ । कच्चा पदार्थ खरिद गर्दा निश्चित प्रतिशत उत्पादन भएको टायर बिक्री गरेपछि मात्रै खरिद गर्न पाउने नियम छ ।

सरकारले उद्योग सञ्चालनका लागि बर्सेनि अनुदान रकम दिएपनि व्यवस्थापन पक्ष र आवश्यक मेसिनहरू नहुँदा उद्योग बन्द हुने गर्छ । उद्योगमा काम गर्दै आएका मजदुरहरूले भने उद्योगको व्यवस्थापन पक्षको हेलचेक्र्याईंले गर्दा टायर बिक्री ठप्प भएको बताएका छन् । नेपालमा भारत, श्रीलङ्का, थाइल्यान्ड, चीनलगायतका देशमा निर्माण भएको टायर आयात भइरहेको छ ।

उद्योगका कर्मचारीहरूका अनुसार विदेशी कम्पनीसँग प्रतिस्पर्धामा उत्रन नसक्नुको कारणमध्ये महाप्रबन्धक र बोर्डको आपसी विवाद प्रमुख कारण हो ।