२९ आश्विन २०८३, बिहिबार

जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको घुइचो, दस हजार बढीले गरे अवलोकन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुरुङ्गा (झापा), २० कात्तिक । कात्तिकको पहिलो साताबाट नै झापाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा वाह्य पर्यटकको चहलपहल बढेको छ ।
अघिल्ला आर्थिक वर्षको तुलनामा यस वर्ष एक महिनाअघि देखि नै आन्तरिक तथा बाह्य पर्यटको चहलपहल बढेको जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले बताउनुभयो ।  कात्तिकको पहिलो साताबाट नै मौसम सफा रहेका कारण झापाका विभिन्न पर्यटकीयस्थलको भ्रमण तथा अवलोकनका लागि आउने पर्यटकको चहलपहल बढेको अध्यक्ष गिरीको भनाइ छ ।

झापासहित मोरङ, सुनसरी  राजविराज, इलामलगायत भारतको समेत विभिन्न स्थानका पर्यटक झापामा रहेका पर्यटकीयस्थल जामुनखाडी, सालवारी, किच्चकबध, केचनाकवल, सतासीधाम, विराटपोखर, कृष्णथुम्की, अर्जुनधारा आउने गरेका छन् । जसमध्ये झापाको  कनकाई नगरपालिका–२ मा रहेको जामुनखाडी सिमसार क्षेत्र जिल्लाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचत बनेसँगै सो क्षेत्रमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको चहलपहल बढी भएको स्थानीयवासीको भनाइ छ ।

सामुदायिक वन क्षेत्रमा तीनकुने आकारको ठूलो तलाउ, झोलुङ्गे पुल, बोटिङको व्यवस्था, आकर्षक बगँैचा, बाल उद्यान, वनभोजस्थल, मिनी चिडियाखाना आदि कारणले जामुनखाडी सिमसार क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेको कनकाई क्याम्पस सुरुङ्गाका प्राध्यापक तीर्थराज खरेलले बताउनुभयो ।

उहाँका अनुसार उक्त सिमसार क्षेत्रमा नेपालका विभिन्न स्थानबाट शैक्षिक भम्रणका लागि समेत पर्यटक आउने गरेका छन् । ५०० भन्दा बढी दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सो सिमसार क्षेत्रमा यो महिना मात्र १० हजारभन्दा बढी पर्यटकले भ्रमण तथा अवलोकन गरिसकेको जानकारी जामुनखाडी सिमसार क्षेत्रका अध्यक्ष पर्शुराम गिरीले दिनुभयो ।

त्यस्तै महाभारतकालीन धार्मिक इतिहास बोकेको दक्षिणी झापामा रहेको किच्चकबध तथा होचो स्थानको पहिचान बनाएको केचना क्षेत्रमा पनि घुम्न आउने पर्यटकको सङ्ख्या उत्तिकै रहेको छ । यो समयमा मौसम धेरै चिसो पनि नभएको र धेरै गर्मी पनि नभएकाले पर्यटकीयस्थलमा दिनभर रमाइलो गर्नेलाई सहज भएका कारण पर्यटकीयस्थलमा पर्यटकको आगमन बढेको मेची क्याम्पस भद्रपुरका पूर्वक्याम्पसप्रमुख चिन्तामणि दाहाल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–‘विगतकेही वर्षअगाडि सम्म मङ्सिरदेखि फागुन महिनासम्म किच्चकबध र केचनाकवलमा पर्यटकको घुइँचो लाग्थ्यो तर यो वर्ष अहिलेबाटै पर्यटकको आवागमन बढेकाले यस क्षेत्रमा व्यापार–व्यवसायसमेत फस्टाएको छ ।’रासस