भीमदत्तनगर, १८ कात्तिक । करदाता शिक्षा कार्यक्रम लागू भएपछि महाकाली अञ्चलमा कर तिर्नेको सङ्ख्या दोब्बरले बढेको छ । आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका अनुसार महाकाली अञ्चलमा राजस्व सङ्कलन दोब्बरले बढेको हो ।
करसम्बन्धी जनचेतना विस्तार भएसँगै कर तिर्नेको सङ्ख्या दोब्बरले बढेको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका कर अधिकृत दीपककुमार केसीले बताउनुभयो ।
‘पहिले कर भन्नेबित्तिकै भाग्थे, अहिले करदाताहरु आफँै कक्षा सञ्चालन गरिदिनुप¥यो भनेर कार्यालयसम्म आउँछन्, धेरै सुधार आएको छ’, उहाँले भन्नुभयो । कर अधिकृत केसीका अनुसार करदाता शिक्षा सञ्चालन भएको चार वर्षमा पाँच हजारभन्दा बढी करदाता करको दायरामा आएका छन् ।
आन्तरिक राजस्व विभागले कर प्रणालीमा परिवर्तन गरी बढीभन्दा बढी करदातालाई करमा सहभागी गराउने नीतिअनुरुप चार वर्ष पहिले करदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको थियो ।
करदाता शिक्षा कार्यक्रममा फर्म, उद्योगको विवरण पेस, करको दर, कति समय अवधिमा कर बुझाउने, कर बुझाउँदा हुने फाइदा आदिबारेमा जानकारी दिइन्छ । कर अधिकृत केसीका अनुसार यस वर्ष महाकाली अञ्चलमा ११ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।
‘कर शिक्षा लिन पहिलेको भन्दा बढी सङ्ख्यामा सहभागी हुने गरेका छन्, यसको प्रभाव बढ्दो छ, जसले विभिन्न फर्म उद्योगलाई करको दायरामा ल्याउन मद्दत गरेको छ’, उहाँले भन्नुभयो । यो वर्ष महाकाली अञ्चलमा २४ वटा करदाता शिक्षा कार्यक्रम आयोजना गर्ने लक्ष्य आन्तरिक राजस्व कार्यालयको छ । गत वर्ष पनि २४ वटै कक्षा सञ्चालन गर्ने लक्ष्य भए पनि उद्योगीहरुको मागअनुसार २७ वटा कक्षा सञ्चालन गरिएको थियो ।
स्थानीय उद्योग वाणिज्य सङ्घ, त्यसका शाखा, व्यावसायिक वित्तीय फर्मको समन्वयमा कर शिक्षा कक्षा सञ्चालन गरिन्छ । बाँकी रहेका १४ कक्षाहरु कञ्चनपुरमा सञ्चालन गरिने कर अधिकृत केसीले जानकारी दिनुभयो ।
‘एक दुई हप्ताभित्रै बेलौरी पुनर्वास औद्योगिक क्षेत्रतिर कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो । कर शिक्षा कार्यक्रम महाकालीका सबै क्षेत्रमा गरिएको भए पनि भौगोलिक विकटताका कारण पहाडी क्षेत्रमा उल्लेख्य मात्रामा सञ्चालन गर्न नसकिएको कर अधिकृत केसीको भनाइ छ । रासस













प्रतिक्रिया