कैलाश केसी
मन्थली, १८ कात्तिक । सशस्त्र द्वन्द्वकालमा रामेछाप र ओखलढुंगामा भएको उज्जनकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठको हत्याकाण्डसम्बन्धी चर्चित डकुमेन्ट्री बुधबार बिहान रामेछाप सदरमुकाम मन्थलीमा प्रदर्शनी गरिने भएको छ ।
प्रेस चौतारी रामेछाप र गणेश–उज्जन भुवन स्मृति प्रतिस्ष्ठानको आयोजनामा जिल्ला विकास समिति रामेछापको सभाहलमा बिहान साँढे ७ बजे डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो । पत्रकार गणेश पाण्डेद्धारा निर्देशित बहादुर बहिनी नामक यस डकुमेन्ट्रीमा आफ्ना दाजुभाईको हत्यापछि सावित्री श्रेष्ठले न्यायका लागि गरेको संघर्षलाई पर्दामा उतारिएको छ ।
४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई समेटिएको छ ।
उज्जनकुमार श्रेष्ठको २०५५ असार १० गते ओखलढुंगामा हत्या भएको थियो । भाइको हत्यारालाई कारबाही गर्न उजुरी दिएकै कारण उज्जनका दाजु गणेशकुमारको २०५९ मंसिर ६ गते रामेछापको साँघुटारमा निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्याकाण्डमा दोषी ठहर गरिएपनि पूर्वसभासद समेत रहेका एमाओवादीका नेता बालकृष्ण ढुंगेललाई अझै पनि राज्यले उन्मुक्ति दिइरहेको छ ।
डकुमेन्ट्री प्रदर्शनका लागि यसको निर्माण पक्ष मंगलबार नै रामेछाप सदरमुकाम आइपुगेको छ । डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले डकुमेन्ट्री हेर्नका लागि आइदिन रामेछापका सरकारी अधिकारी, राजनीनिक दलका नेता, अधिकारकर्मी, महिला, संचारकर्मी तथा सर्वसाधारणहरुलाई आग्रह गरेका छन् ।
















प्रतिक्रिया