गोकुलेश्वर (दार्चुला), १८ कात्तिक । गत असार ४ गते महाकाली नदीमा खसेको ट्याक्टर भेटिएको छ । अनपा–१३ किम्तडीका स्थानीय कृष्णराज जोशीले आइतबार दिउँसो खलङ्गातर्फ आउने क्रममा नदीमा उक्त ट्याक्टर देखेका हुन् ।
नदीमा पानीको सतह घटेपछि ट्याक्टरका पाटपुर्जा देखिएको जोशीले बताउनुभयो । अनपा–१३ बाट ढुङ्गा ल्याएर सदरमुकामतर्फ आउने क्रममा से१त ४५१३ नम्बरको ट्याक्टर अनपा–१३ किम्तडीको भिरबाट महाकाली नदीमा खसेको थियो ।
दुर्घटनालगत्तै प्रहरीले बेपत्ता ट्याक्टर खोज्ने काम गरे पनि नदीमा पानीको बहाव अत्यधिक रहेकाले फेला पार्न सकेको थिएन । ट्याक्टर नदीका खस्दा ट्याक्टरधनी बाजुरा दोगाडी– ४ का ५० वर्षीय इन्द्रबहादुर बुढा तथा अनपा–१३ का १५ वर्षीय शेरसिंह ठगुन्ना बेपत्ता भएका थिए ।
बेपत्ता भएकाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको छ । ट्याक्टरमा सवार अनपा–१३ का हिरादेवी ठगुन्ना तथा चालक बाजुरा दोगाडी–४ का टेकबहादुर बुढा हामफालेर बाँच्न सफल भएका थिए ।
ट्याक्टरमा बढी लोड भएकाले ओरालो सडकमा ब्रेक फेल हुँदा इन्जिन चुँडिएर अगाडिको भाग नदीमा खसेको थियो । रासस















प्रतिक्रिया