काठमाडौं, १७ कात्तिक । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आगामी पुस महिनादेखि कृषि क्षेत्रमा नयाँपन देखिने ठोकुवा गर्दै युवाहरु विदेशिनु नपर्ने उद्घोष गर्नुभएको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पराजुलीले पुससम्म कृषि क्षेत्र परिणाममुखी हुने बताउँदै नेपालका युवाहरु वैदेशिक रोजगारमा जान नपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो– ‘‘विदेश जान टिकट काटेर ठिक परेका युवाहरु पनि पुसपछि नेपालमै बस्नेछन्, हामीले त्यस अनुरुपको कार्यक्रम बनाएका छौं, उहाँहरु विदेश नगई कृषिमा आवद्ध भएको तपाईहरुले देख्न पाउनुहुनेछ ।’’
कार्यक्रममा सरकारले खर्च गर्न सक्ने गरी कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले कृषि क्षेत्र उत्पादनमुखी र परिणाममुखी बनाउने गरी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको धारणा राखेका छन् । उहाँले भन्नुभयो–‘‘बजेट कार्यान्वयन भए कृषि उत्पादकत्वमा वृद्धि हुन्छ, यसले नेपालमा कृषि क्रान्तिको बाटो खोल्नेछ ।’’
मन्त्री पराजुलीले कृषि क्षेत्रलाई विकास गर्नका लागि भूमि, मल, सिँचाई, वीउवीजन, सुलभ बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने समेत धारणा राख्नुभयो । कृषिक्षेत्रलाई आकर्षणको केन्द्र बनाउनका लागि सरकारले ३० वटा वाणिज्य बैंकमार्फत देशभरिका छ सय शाखालाई नै परिपत्र जारी गरी छ प्रतिशतको सहुलियत दरमा किसानहरुलाई ऋण उपलब्ध गराउन निर्देशन गरेको पनि मन्त्रीले जानकारी दिनुभयो । उहाँले धान, गहुँलगायतका उपभोग्य वस्तुको मन्त्रीस्तरीय निर्णयबाट समर्थन मूल्य निर्धारण गरेर बाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।
















प्रतिक्रिया