नुवाकोट, १६ कात्तिक । एकीकृत नेकपा (माओवादी)को जिल्लामा समानान्तर जिल्ला कमिटीको घोषणा भएको छ ।
एमाओवादीको जिल्ला अध्यक्ष हिरानाथ खतिवडासहित तीन जनालाई कारबाहीको घोषणासहित समानान्तर समितिको गठन भएको सार्वजनिक गरिएको छ ।
जिल्लामा नेता डा बाबुराम भट्टराई पक्षधर भनि चिनिएकाहरुको नेतृत्वमा समानान्तर जिल्ला कमिटी गठन भएको हो । आइतबार विदुरमा भएको बैठकले एमाओवादी विशेष जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । छ सदस्यपछि थप्ने गरी गठन भएको ६१ सदस्य रहेको समितिको संयोजकमा राजकुमार रेग्मी रहनुभएको छ ।
एमाओवादीको संस्थापन पक्षले पार्टी हितविपरित काम गरेको भन्दै रेग्मीसहित चार जनालाई गत बिहीबार कारबाही गरी निलम्बन गरेको थियो । रेग्मीको संयोजकत्वमा तीन महिनाअघि गठित ‘वैचारिक बहस समिति’ गठन भएपछि स्पष्टीकरण मागेको जिल्ला कमिटीले रेग्मीसहित गणेश अधिकारी, रजमान तामाङ, नवराज ढुङ्गाना र गोकर्णनाथ न्यौपानेलाई कारबाही गरेको थियो ।
जिल्ला कमिटीले कारबाही गरेकाहरुकै नेतृत्वमा समानान्तर समिति गठन गरी संस्थापन पक्षमा जिल्ला अध्यक्षसहित तीन जनालाई कारबाही गरी अनिश्चितकालका लागि निलम्बन गरेको जनाइएको छ ।
समितिका संयोजक रेग्मीद्वारा जारी विज्ञप्तिमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, उपाध्यक्ष मुकुन्द पौडेल र सचिव पुष्प लामिछानेलाई पार्टीको हितविपरित कार्य गरेको र वैचारिक बहसलाई निषेध गरेको कारण जनाउँदै कारबाही गरी निलम्बन गरिएको घोषणा गरिएको छ ।
विज्ञप्तिमा केन्द्रीय पोलिटब्युरो सदस्यहरु नारायण दाहाल र हितबहादुर तामाङ, केन्द्रीय सदस्य विमला सुवेदीलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरिएको छ ।
रेग्मीको संयोजकत्वमा गठित जिल्ला सम्मेलन आयोजक समितिमा दिवङ्गत नेता पोष्टबहादुर बोगटीका भतिज किरण बोगटीसमेत रहनुभएको छ ।
















प्रतिक्रिया