काठमाडौँ, १६ कात्तिक । सरकारले सार्कलाई लक्षित गरी काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न छवटा स्थलमा मर्मत एवम् जीर्णोद्धार कार्य अघि बढाएको छ ।
आगामी मङ्सिर १० र ११ मा काठमाडौँ हुने सार्कको १८औँ शिखर सम्मेलनमा आउने सार्क राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखलगायतका अतिथिलाई ती स्थलको भ्रमण गराउने लक्ष्यअनुरूप मर्मत एवम् सुधारको प्रक्रिया अघि बढाएको हो ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार सार्क सम्मेलनलाई लक्षित गरी भक्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, चाँगुनारायण, स्वयम्भू र बौद्धनाथ क्षेत्रलाई मर्मत एवम् सुधार गर्न लागिएको छ ।
त्यसका लागि कुल रु एक करोड ६२ लाख विनियोजन गरिएकोमा भक्तपुर दरबार क्षेत्रका लागि रु ७५ लाख, चाँगुनारायणका लागि रु ३० लाख, पाटन दरबार क्षेत्रका लागि रु २० लाख, स्वयम्भूका लागि रु १५ लाख, हनुमान ढोकाका लागि रु १५ लाख र बौद्धनाथका लागि रु सात लाख छुट्याइएको छ ।
यसअघि काठमाडौँमा सम्पन्न सन् १९८७ नोभेम्बर २, ३ र ४ को तेस्रो सार्क शिखर सम्मेलन र सन् २००२ जनवरी ५ र ६ मा सम्पन्न एघारौँ शिखर सम्मेलनामा पनि सार्क राष्ट्रका पाहुनाहरूलाई पुरातात्विक स्थलहरूको भ्रमण गराइएको थियो ।
मङ्सिर ७, ८ गतेभित्रमा मर्मत एवम् सुधारका सम्पूर्ण कामहरू सम्पन्न गर्ने गरी काम तीव्र रूपमा अघि बढाइएको उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार मर्मत सुधार कार्यका साथै उक्त क्षेत्रमा सार्क राष्ट्रका अतिथिहरूलाई भ्रमण गराउन विभागले पथप्रदर्शकहरूको समेत व्यवस्था गरिसकेको छ । रासस















प्रतिक्रिया