काठमाडौं, १६ कात्तिक । झापा र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ निवासी २६ वर्षीय किशोर भनिने हरिकृष्ण सुवेदी र सोही ठाउँ निवासी ३६ वर्षीय कुमार भनिने कुलबहादुर रम्तेल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
झापाको बिर्तामोडबाट मे५प २८११ नंको मोटरसाइकलमा सुरुङ्गातर्फ जाँदै गए राति कनकाई नगरपालिका–७ स्थित विरिङ पुलनजिकै सडकमा रोकिराखिएको ट्याक्टरको ट्रलीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवैको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए ।
गुल्मी सहकर्मी अनिल खत्रीका अनुसार, गुल्मीको अस्लेवामा शनिवार साँझ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा हसरा १ की १४ बर्षीया सीता सुनार र ९ वर्षका ईश्वरी बिश्बकर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
दुर्घटनामा परि घाइते हुनेहरुमा १५ वर्षका संगीत बिश्वकर्मा, १२ वर्षका निसा बिश्कर्मा, ११ वर्षका उमा बिश्कर्मा, ९ वर्षका संदीप बिश्कर्मा, १२ वर्षका शिब बिश्वकर्मा, १७ वर्षका राधिका बिश्वकर्मा, १२ वर्षका सिजन बिश्कर्मा, ७ वर्षका शुसिल बिश्वकर्मा, १६ वर्षका अनिल बिश्वकर्मा, १३ वर्षका अमृत बिश्वकर्मा, र चालक २९ वर्षका तेजबहादुर बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ । घाइते सबै हसराका रहेको र घाइते मध्ये २ जना उपचारपछि घर फर्केको बताइएको छ । घाइते सबैको पाल्पामा उपचार भैरहेको छ ।
हसरा खैरेनीबाट बिद्यार्थी लिएर बनभोजका लागि अश्लेवा गएको लु १ च ४८८७ नम्बरको जिप फर्कने क्रममा शनिवार साझ अश्लेवा –६ को दमार भन्ने स्थानमा दुर्घटना भएको हो । खैरेनीबाट ३० जनाको टोली बनभोज आएको र १९ जना घुम्नका लागि माथी अस्लेवातिर जिप चढेर आएको केहिवेरमैं जिप झण्डै जीप सडकबाट ३ सय ५० मिटर तल खसेको थियो ।
















प्रतिक्रिया