झापा, १४ कात्तिक । छिमेकीबाट बलात्कृत भएकी झापा जलथल–८ निवासी ११ वर्षीया एक बालिकाका अभिभावकलाई पीडक पक्षले पैसाको आडमा दबाउन खोजेको खुलासा भएको छ ।
बालिका बलात्कारको अभियोगमा पक्राउ परेका स्थानीय रामकृष्ण गौतमको परिवारले पीडित पक्षलाई पैसामा मुद्दा मिलाउन निरन्तर धम्की दिँदै आएको अधिकारकर्मीलाई बताएपछि यो खुलासा भएको हो ।
जलथल निवासी भुवन बाँस्कोटाका अनुसार असोज २३ गते गौतमले बालिकालाई घरमा कोही नभएको मौका छोपी मोबाइलमा राखिएको अश्लील भिडियो देखाउँदै यौनशोषण गरिएको हो ।
बालिकालाई गौतमले यौनशोषण गरेका बेला पीडित बालिकाले चिच्याएपछि स्थानीय अर्की बालिकाले देखेर गाउँलेलाई खबर गरेलगत्तै गौतमलाई गाउँलेले नै नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यता पीडक गौतमकी श्रीमती र दाजु टङ्कमणिले पीडितकै घरमा गएर ५० हजारमा मुद्दा नमिलाए ज्यान मार्ने धम्की दिएको पीडित पक्षले अधिकारकर्मीलाई बताएसँगै घटना सार्वजनिक भएको हो ।
एकीकृत विकास प्रतिष्ठानको मानवअधिकार डेस्कका प्रमुख विष्णुप्रसाद खरेल र युथ एक्सन झापा संयोजक दीपक दासको नेतृत्वमा अधिकारकर्मीको टोलीले जलथल पुगेर घटनाको स्थलगत अनुसन्धानसमेत गरेको बताएको छ ।
अधिकारकर्मी खरेलका अनुसार आरोपित गौतमले बालिकालाई बलात्कार गरेका कारण बालिका राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।
















प्रतिक्रिया