बागलुङ, १४ कात्तिक । बागलुङ–गुल्मी जोड्ने झोलुङ्गेपुल बनेपछि एक घण्टाको दूरी पाँच मिनेटमा छोट्टिएको छ ।
उक्त झोलुङ्गेपुल सञ्चालनमा आएपछि दुवै जिल्लाका दर्जन जति गाविसका बासिन्दा लाभान्वित हुनेछन् । २६५ मिटर लम्बाइ र १२५ मिटर अग्लो झोलुङ्गेपुल दुई वर्ष लगाएर निर्माण गरिएको हो । निर्माण सम्पन्न भए पनि उद्घाटनसँगै सर्वसाधारणका लागि केही दिनमा खुल्ला गरिने जनाएको छ ।
बागलुङ र गुल्मीबीच भएर बग्ने बढीगाड खोलामाथि बनेको उक्त पुल सञ्चालन हुनासाथ सर्वसाधारणलाई आवतजावतमा ठूलो सहजता मिल्ने पुल निर्माण समितिका अध्यक्ष विष्णु भुसालले बताउनुभयो ।
बागलुङको दगातुम्डाँडा–९ सक्न्यारदेखि र गुल्मीको पौंदीअमराइ–९ अरेवा जोड्ने गरी बनेको पुलले पश्चिम बागलुङका विभिन्न गाविसदेखि गुल्मीको तम्घाससम्म आवतजावत गर्न सहज हुने अध्यक्ष भुसालको भनाइ छ ।
अघिपछि एक घण्टा लगाएर हिँड्नुपर्ने दूरी पुलले एक मिनेटमै छोट्टाएपछि गाउँले पनि दङ्ग छन् । किसान, मजदुर, विद्यार्थी, पेसाकर्मीलगायत सर्वसाधारणको दैनिकी पनि पुलकै कारणले केही सरल बन्ने देखिएको छ ।
बागलुङको दतातुम्डाँडा, सिसाखानी, रणसिँहकिटेनी, जलजला, ग्वालीचौरलगायत गुल्मीको पौंदीअमराइ, मुसीकोट, नेटा, इस्मा, घमिरलगायतका गाविसका बासिन्दा पुलबाट प्रत्यक्ष लाभान्वित हुने छन् ।
त्यस क्षेत्रको पर्यटन विकासमा पनि पुलले सहयोग पुर्याउने विश्वास लिइएको छ । पौंदीअमराइको अरेवामा केही वर्षअघि विद्यालय खोल्दा विद्यार्थी सङ्ख्या कम भएपछि छिमेकी गाविसका विद्यार्थीको सुविधाका लागि पुल बनाउन स्थानीयले पहल गरेका थिए । विभिन्न सरकारी, गैरसरकारी सङ्घसंस्था तथा स्थानीयको समेत लगानीमा पुल निर्माण भएको हो ।
मध्यपहाडी लोकमार्गको माथिबाट बनेको पुल भएको हुँदा पर्यटकीय दृष्टिकोणले पनि महत्व बढेको अध्यक्ष भुसालले बताउनुभयो । पुलले छिमेकी गाविसबीचको व्यापारिक सम्बन्धलाई पनि सुदृढ पार्ने छ ।
करिब रु एक करोड लागतमा सम्पन्न भएको पुलको केही दिनभित्रै औपचारिक उद्घाटन गर्ने निर्माण समितिले जनाएको छ । पछिल्लो समय यस क्षेत्रमा अग्लो तथा लामो झोलुङ्गे पुल निर्माण गर्ने क्रम बढ्दो छ ।
झोलुङ्गेपुलको जिल्ला भनेर चिनिने बागलुङमा यसअघि जिल्लाकै सबभन्दा अग्लो तथा लामो बागलुङ सदरमुकाम र तित्याङ गाविस जोड्ने पुल सञ्चालनमा आइसकेको छ ।
त्यस्तै छिमेकी पर्वत जिल्लामा पनि देशकै अग्लो झोलुङ्गेपुल बनेको छ । कुस्मा–ज्ञादी जोड्ने पुलपछि झन् अग्लो कुस्मा–कैया जोड्ने झोलुङ्गेपुल अघिल्लो महिनादेखि सञ्चालनमा आइसकेको छ । सो पुलले बागलुङ–पर्वत जोडेको छ । रासस















प्रतिक्रिया