काठमाडौँ, १३ कात्तिक । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको उपस्थितिमा मात्रै संविधान लेखनका विषयको टुङ्गो लाग्ने अडान राखेपछि प्रमुख तीन दलको बैठक बिनानिष्कर्ष सकिएको छ ।
शान्ति कोषको सचिवालय बबरमहलमा बसेको तीन दलको बैठकमा विवादित विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएपनि एमाओवादीले काँग्रेसका सभापति पनि सहभागी हुनुपर्ने अडान राखेको नेकपा(एमाले)का उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
उहाँले छलफल विवादित विषयमा केन्द्रित भएपनि कुनै पनि निष्कर्षमा भने पुग्न नसकेको र पार्टी अध्यक्ष तहमा नै छलफल गर्ने सहमतिका साथ टुङ्गिएको बताउनुभयो ।
एकीकृत नेकपा(माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष तहमा नै छलफललाई केन्द्रित गरी विवादित विषयवस्तुलाई टुङ्गो लगाउनुपर्ने भन्ने कोणबाट छलफल भएको जानकारी दिँदै दोस्रो तहका नेताहरू भने उहाँहरूको आग्रहमा मात्र सहभागी हुने भन्ने सहमति भएको बताउनुभयो ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले भने विवादित विषयलाई समाधान गर्ने विभिन्न विकल्पमा सामान्य छलफल भएको जानकारी दिनुभयो ।
उहाँले छलफल शीर्ष तहमा नै हुने र विवादित विषयमा सहमति खोजिने बताउँदै संविधानसभाले दिएको समयसीमा भित्रै निष्कर्ष निस्कने बताउनुभयो ।
दलहरूलाई विवादित विषयमा सहमति खोज्नका लागि यही कात्तिक १५ गतेसम्मको समयसीमा संविधानसभाले दिएको छ ।
बैठकमा काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिटौला र नेता नरहरि आचार्य, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गौतम, नेता माधवकुमार नेपाल र एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष श्रेष्ठ र वरिष्ठ नेता डा बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो ।
















प्रतिक्रिया