३१ आश्विन २०८३, शनिबार

सर्पदंशका बिरामीलाई देशभरि एउटै उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Snakeचितवन, १३ कात्तिक । सर्पदंशको उपचार पद्धतिमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

जेनेभा युनिभर्सिटी हस्पिटलको आर्थिक र प्राविधिक सहयोगमा दुई नेपाली चिकित्सकको नेतृत्वमा १८ महिना लगाएर गरिएको अनुसन्धानसँगै उपचार पद्धति सहज र सस्तो बनेको छ । यसका कारण बिरामीको मृत्युदरसमेत घटेको छ ।

अनुसन्धानको नेतृत्व गरेका दुईमध्ये भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा विजयप्रसाद पौडेलका अनुसार चितवनको भरतपुर अस्पताल, झापाको चारआली र दमक गरी तीन वटा केन्द्रमा अनुसन्धान गरिएको थियो ।

डा पौडेल र डा सञ्जिव शर्माले अनुसन्धानको नेतृत्व गर्नुभएको थियो । सबै केन्द्रमा तीन चिकित्सक र तीन स्टार्फ नर्सको सहयोग लिइएको थियो । डा पौडेलका अनुसार २४७ जना सर्पले टोकेका बिरामीमा अनुसन्धान केन्द्रित गरिएको थियो ।

अनुसन्धानको विस्तृत नतिजा आइनसके पनि अन्य महत्वपूर्ण उपलब्धिहरु प्रयोगमा आएको पौडेलले बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य सङ्गठनले अनुसन्धानका उपलब्धिलाई मान्यता दिएको उनको भनाइ छ ।

अनुसन्धान पूर्व एकजना बिरामीलाई १६५ भायलसम्म  प्रतिविष दिइन्थ्यो भने अनुसन्धानसँगै ३० भायलभन्दा बढी  प्रतिविष दिन नपर्ने प्रमाणित भएको छ । पौडेलका अनुसार विषालु सर्पले टोकेका २० प्रतिशतले ज्यान गुमाउँदै आएकामा अहिले घटेर पाँच प्रतिशतमा झरेका छ ।

नेपालमा बर्सेनि २० हजार जति मानिसलाई सर्पले टोक्ने र यसमध्ये दुई हजार विषालु रहने पौडेलको भनाइ छ । चितवनको भरतपुर अस्पतालमा मात्रै बर्सेनि ५०० जना सर्पदंशका बिरामी आउने गरेकामा करिव २०० वटा घटना विषालु सर्पको टोकाइका छन् ।

नेपालमा गोमन, करेतसहितका आठ जातका विषालु सर्प पाइन्छ । चितवनको भरतपुर अस्पताल सर्पदंश उपचार केन्द्रका रुपमा विकास भइरहेको छ ।

पौडेलका अनुसार आसपासका अतिरिक्त नेपालगन्ज, बुटवल, वीरगन्ज, जनकपुरलगायतका ठाउँबाट समेत सर्पदंशका बिरामी भरतपुर अस्पताल पठाइने गरेको छ ।

नयाँ पद्धति र सघन उपचार कक्ष भएकाले छिटो बिरामी आइपुगे बचाउन सकिने उनको भनाइ छ । अनुसन्धानसँगै नयाँ उपचार पद्धतिको थालनी भएकाले औषधि अभाव घटेको र बिरामी बचाउन सकिएको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा केशवराज भुर्तेलले बताए ।