प्रतिक्षा काफ्ले
स्याङ्जा, १३ कात्तिक । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थित आँमडाडामा जीप खस्दा १२ जना घाइते भएका छन् भने ९ को अवस्था गम्भिर रहेको छ ।
पुतलीबजार ९ सतौँबाट छुटेको ग १ ज ५०१७ को जीप विहान अन्दाजी साढे ९ बजे आमडाँडाबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार १२ जना घाइते मध्ये ९ जनाको अवस्था गम्भीर रहेको हुँदा गण्डकी अस्पताल पोखरामा रिफर गरेको छ ।
घाइते हुनेहरुमा पुवनापा ८ बस्ने चाँदनी कार्की, ५४ बर्षीय टेकनारायण पौडेल, ९ बर्षीय संगम कार्की, ६० बर्षीया सावित्रा अधिकारी, ३५ बर्षीया मैना कार्की, ३० बर्षीया डिलमाया कार्की, खगेन्द्र पौडल, वाड ७ बस्ने देवी पौडेल, वाड ११ बस्ने २८ बर्षीय कृष्ण अधिकारी, जिपका चालक २४ बर्षीय एकबहादुर विसी, २१ बर्षीय रोशन पराजुली र २१ बर्षकै नरेश क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी निरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।
सुवेदीका अनुसार गम्भीर घाइते हुने ९ जनालाई गण्डकी अस्पताल पोखरामा रिफर गरिएको छ भने अन्य ३ जनालाई जिल्ला अस्पताल स्याङ्जामा भर्ना गरिएको छ ।















प्रतिक्रिया