लमजुङ, १२ कात्तिक । नेपाली काँग्रेस लमजुङका क्षेत्रीय कोषाध्यक्ष शिवप्रसाद जोशीसहित ५० जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
सदरमुकाम बेसीशहरमा बुधबार आयोजित कार्यक्रममा नेकपा एमालेका सचिव पृथ्बी सुब्बा गुरुङले जोशीसहित ५० जनालाई एमालेमा प्रवेश गराउनुभएको हो । जोशी काँग्रेस लमजुङ क्षेत्र नम्बर १ क्षेत्रीय समितिका कोषाध्यक्ष हुनुहुन्छ ।
नेपाली कांग्रेसमा विचार, नीति र कार्यशीलीमा असन्तुष्टि जनाउँदै नेकपा एमालेको विचारसंग सहमत भएर आफू नेकपा एमालेमा प्रवेश गरेको जोशीले बताउनुभयो । जोशीले आफू एमालेमा कसैको भाग खोस्न र स्वार्थ पूरा गर्नका लागि नआएको बताउँदै पार्टीले दिने जुनसुकै भूमिका निष्ठापूर्वक निर्वाह गर्न तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
जोशीसँगै काँग्रेस परित्याग गरी चितीबाट भवबहादुर सिलवाल, नारायण सिलवाल, बसुन्धरा सिलवाल, कुमार भण्डारी, खगेन्द्रविलास पन्तसहित ३६ जना भन्दा बढी कांग्रेसका क्रियाशील सदस्य एमालेमा प्रवेश गरेका छन् ।
यसैगरी, पाचोक गाविसबाट नेपाली कांग्रेस परित्याग गरी भीम गुरुङ, सुन्दर गुरुङ, विजय गुरुङसहित डेढ दर्जन क्रियाशील सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
सोही अवसरमा एकीकृत नेकपा माओवादी हिलेटक्सार गाउँ संगठन समितिका अध्यक्ष नेत्रजंग गुरुङसहित बेसीशहर नगरपालिका वडा नम्बर १२ बाट एकीकृत नेकपा माओवादी परित्याग गरी नारायण परियारको नेतृत्वमा देउबहादुर परियार, बाबुराम परियार, श्यामबहादुर परियार, बलबहादुर परियार, दीपक विक लगायतका एकीकृत माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एकीकृत माओवादी हिलेटक्सार गाउँ कमिटी अध्यक्ष गुरुङले एकीकृत नेकपा माओवादीले बोली र ब्यवहारमा एकरुपता नदेखाएकाले आफू आफ्नो पुरानै घर एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले अब आफ्ना पुरानो साथीहरुसंग हातेमालो गर्दै पार्टी काममा सक्रिय हुने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका लमजुङका संयोजक सुमन गुरुङसहितका राप्रपा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य मायानाथ अधिकारी, संविधान सभा सदस्यद्धय जमीन्द्रमान घले र डाक्टर भीष्म अधिकारी तथा जिल्ला अध्यक्ष धनञ्जय दवाडी लगायतले टीका र खदा लगाई पार्टी प्रवेश गराउनुभयो ।
















प्रतिक्रिया