२९ आश्विन २०८३, बिहिबार

बागलुङमा उत्पादित टायल विदेशी बजारमा पठाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १२ कात्तिक । जिल्लाको पश्चिम क्षेत्रमा पाइने कालो टायललाई विदेशी बजारमा पठाउने तयारी गरिएको छ ।

बागलुङको गलकोट क्षेत्रका तारा, हिल, अर्गल र अमरभूमिलगायतका गाविसमा सञ्चालित ढुङ्गाखानीबाट उत्पादन भएको कालो टायल अन्तर्राष्ट्रिय मागअनुसार विदेशी बजारमा पठाउने तयारी भएको हो ।

लामो समयदेखि सञ्चालनमा आएका ढुङ्गाखानीबाट उत्पादन भएका टायल हाल बागलुङ, पोखरा, काठमाडौँ, बुटवल, म्याग्दी, कुश्मालगायत ठूला–ठूला सहरमा खपत हुने गरेकोमा हाल विदेशीले समेत त्यो टायल मन पराएका कारण विदेश पठाउने तयारी भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठले काठमाडौँमा सञ्चालित सुमित ट्राभल्स एन्ड टुर्स प्रालिले बङ्गलादेशमा टायलको निर्यात गर्ने जिम्मा लिएको जानकारी दिनुभयो ।

बजारमा विभिन्न प्रकारका टायल पाइने गरे पनि कालो ढुङ्गाको टायल स्वास्थ्यका लागि पनि अतिउपयुक्त भएकाले विदेशीले यस्तो टायल मन पराएको श्रेष्ठले बताउनुभयो ।

अन्य टायल बिच्छाइएका घरमा जाडो समयमा टायल चिसो भई अति जाडो हुने र गर्मीको समयमा तातेर बढी गर्मी हुने गरे पनि यस्तो टायलबाट त्यो समस्या नभएका कारण माग बढेको श्रेष्ठले बताउनुभयो ।

ढुङ्गाखानीका लागि ख्याति कमाएको सो ठाउँमा दर्जनाँै खानी सञ्चालनमा आएका र ती खानीबाट वार्षिक लाखौँ रुपैयाँ स्थानीयलाई आम्दानी हुने गरेको छ ।

घर निर्माण गर्नेले आफ्नो घरलाई राम्रोसँग सजाउनका लागि विभिन्न विदेशी टायलको प्रयोग गर्ने गर्दछन्, तर पोखरा, काठमाडौँलगायतका ठाउँमा बागलुङमा उत्पादन भएको टायलको माग अत्यधिक छ, त्यसैले खानी क्षेत्रमा विभिन्न समूह तथा व्यक्तिगत रुपमा ढुङ्गाखानी सञ्चालनमा आइरहेका छन् ।

सुरुमा घर छाउने ढुङ्गा उत्पादन गर्दै आइरहेका खानीले अहिले घर छाउने ढुङ्गाका साथै सजावटका लागि टायलनै उत्पादन गर्न थालेका छन् ।

पहिले पहिले सामान्यरुपमा सञ्चालनमा आएका यी खानी अहिले भने व्यावसायिकरुपमा अगाडि बढेका छन् । खानीले स्थानीयस्तरका सामुदायिक वन, गाविस तथा विद्यालयलाई वार्षिक निश्चित रकम बुझाउने गरेका छन् । गाउँमा रहेका ढुङ्गाखानी व्यावसायिकरुपमा अगाडि बढेपछि स्थानीय युवाले समेत राम्रो रोजगारी पाएका छन् ।

त्यस क्षेत्रमा रहेका करिब २० भन्दा बढी ढुङ्गा खानीमा १०० भन्दा बढी युवाले प्रत्यक्ष रोजगारी पाएको अर्गलका महेन्द्र घर्तीले बताउनुभयो । रासस