३१ आश्विन २०८३, शनिबार

एमालेविरुद्ध खनियो एमाओवादी, एमालेले सहमति भत्काउन खोजेको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Danda

काठमाडौँ, १२ कात्तिक । एकीकृत नेकपा माओवादीले राज्य पुनःसंरचनाका विषयमा बन्न लागेको सहमतिलाई नेकपा एमालेले भत्काउन लागेको निष्कर्ष निकालेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बुधबार बसेको पार्टी पदाधिकारी र राजधानीमा उपलब्ध नेताहरूको बैठकले राज्य पुनःसंरचनाको सवालमा एमालेद्वारा प्रस्तुत केवल चार/पाँच प्रदेशको प्रस्तावले सहमति बनाउनेभन्दा पनि बन्न लागेको सहमतिलाई भत्काउने ठहरसहित विगतको प्रतिबद्धतालाई पनि आत्मसात् गर्न अनुरोध गर्ने निर्णय गरेको हो । शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमति निर्माण गर्न सकिने अवस्था रहे पनि राज्य पुनःसंरचनाको सवालमा सहमति कायम गर्न गाह्रो परेको भन्दै बैठकले सबै वर्ग तथा क्षेत्रलाई अधिकार दिने कि नदिने प्रश्न नै सरकारमा रहेको दलले बुझ्न नसकेको ठहर बैठकले गरेको एमाओवादीका सचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

बैठकले आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न लागि सबै पक्षलाई सहमतिमा आउन आग्रह समेत गरेको छ । सहमतिबाटै संविधान लेखन प्रक्रियालाई पूर्णता दिनुपर्ने र त्यसका लागि आफ्नो अडानमात्रै प्रस्तुत गर्ने प्रवृत्तिबाट माथि उठेर सहमति र सहकार्यका लागि प्रतिबद्ध रहन एमाओवादीले नेपाली काँग्रेस र नेकपा एमालेलाई अनुरोध गरेको छ ।

संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन आफ्नोतर्फबाट लचकता प्रदर्शन गर्ने र सहमति कायम गर्न विशेष ध्यान दिने निर्णयसमेत बैठकले गरेको वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।

दलहरूबीच भएको १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान २०६३ र विभिन्न समयमा भएका सहमति तथा सम्झौता नै संविधान लेखनको आधार भएको ठहरसमेत बैठकले गरेको उहाँको भनाइ थियो ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहनुभएका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरूबीच छलफलबाट हालसम्म भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।