काठमाडौँ, ११ कात्तिक । उद्योग मन्त्री महेश बस्नेतले विदेश लगानीको सुरक्षा सरकारले गर्ने बताउनु भएको छ ।
मित्रराष्ट्र चीनका उद्योगी तथा व्यवसायीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा मन्त्री बस्नेतले विदेशी लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले निर्धक्क लगानी गर्न आग्रह गर्नुभयो । उहाँले विदेशी लगानीकर्तालाई निर्धक्क भई लगानी गर्न आग्रह गर्दै विदेशी लगानीलाई राष्ट्रियकरण नगरिने नीति रहेको र तिनको सुरक्षा गर्ने दायित्व सरकारको भएको बताउनुभयो ।
उद्योगमन्त्री बस्नेत, सहसचिव यमकुमारी खतिवडालगायतसँग उद्योग मन्त्रालयमा भएको छलफलमा चीनका व्यवसायीहरुले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।
जबाफमा मन्त्री बस्नेतले मुलुकमा विदेशी लगानी भित्र्याएर औद्योगिक गतिविधि फैलाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । वैदेशिक लगानी प्रवद्र्धनका लागि अहिले नयाँ विधेयक निर्माणको क्रममा रहेको, त्यसमा कृषि, पर्यटन, ऊर्जा, खनिजजन्य पदार्थलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।
लि टेककिनको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले पर्यटन तथा विद्युतीय क्षेत्रमा लगानी गर्न बढी इच्छा देखाएका थिए ।















प्रतिक्रिया