२९ आश्विन २०८३, बिहिबार

वन संरक्षणमा उपभोक्ता जागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ११ कात्तिक । उपभोक्ताले गरे के हुँदैन भन्ने कुुराको पुष्टि यहाँको जनएकता सामुदायिक वनले गरेको कामबाट पुष्टि भएको छ ।

एकसय २१ हेक्टर क्षेत्रफलमा फैलिएको रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनएकता सामुदायिक वनको ५० हेक्टर क्षेत्रफलमा गोडमेल गरेर सालको बिरुवा हुर्काइएको छ । यति मात्र होइन व्यावसायिक रूपमै जुडीबुटी तथा उन्नत जातको घाँसखेती गरिएको छ ।

छ वर्षअघि मानव अतिक्रमण र खुल्ला चरिचरणका कारण झन्डै उजाडिने अवस्थामा पुगेको जनएकता सामुदायिक वन अहिले हराभरा बनेको मात्रै छैन उपभोक्ताको सामूहिक प्रयासबाट वन संरक्षण कार्यसँगै कागती, भूइँकटहर, अमला, हाइब्रिड बेल, फणिर रोपिएको छ । यतिमात्र नभई कुरिलो, मिश्रित प्रजातिका जडीबुटी, अम्रिसो, सतिसाल, बाँस पनि रोपिएको छ । उन्नत जातको घाँससमेत उपभोक्ताले उत्पादन गर्दै आएका छन् ।

दुई सय १० घरधुरी उपभोक्ता रहेको उक्त सामुदायिक वनका सबै उपभोक्तालाई आजभोलि घाँसको चिन्ता छैन । उन्नत जातको घाँसबाट गाईवस्तुले बढी मात्रामा दूध दिन थालेपछि उपभोक्ता हर्षित बनेका छन् ।

जनएकता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अमरबहादुर विश्वकर्माले सामुदायिक वन क्षेत्रभित्र बेल, खयर, अमला, सर्पगन्धा, कुरिलो जस्ता जडीबुटी रोपिएको बताउनुभयो ।

उहाँले आगामी पाँच वर्षभित्रमा आयआर्जनका माध्यमबाट गरिबीको रेखामुनि रहेका सबै उपभोक्ताको जीवनस्तर उकास्ने लक्ष्य रहेको पनि गर्वका साथ बताउनुभयो । उक्त सामुदायिक वनमा दुई वटा पोखरीसमेत रहेका छन् जसमा ४० हजार माछाका भुरा पालिएको छ ।

जिल्ला वन कार्यालयबाट दुई पटक वन संरक्षणमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत भइसकेको उक्त सामुदायिक वनले पशुपालन तथा कृषिमा आधारित उपभोक्ताको सहयोगमा तीन कोठाको आफ्नै पक्की भवनसमेत निर्माण गरिसकेको छ ।

सामुदायिक वनमा उन्नत जातका घाँस पाइन थालेपछि महिलालाई सजिलो मात्र भएको छैन सामुदायिक वनको आम्दानीबाट फर्निचर उद्योग, माछापालन गर्दा केहीले रोजगारीसमेत पाएका छन् ।
जनएकता सामुदायिक वन अहिले रौतहट जिल्लाकै नमुना बन्दै गएको छ । रासस