काठमाडौँ, ११ कात्तिक । षडानन्द राष्ट्रिय पुरस्कार वरिष्ठ संस्कृतिविद् प्राज्ञ डा. जगमान गुरुङलाई दिइने भएको छ ।
षडानन्द राष्ट्रिय पुरस्कार प्रदान गरिने व्यक्तित्व डा. जगमान गुरुङ हाल नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ ।
सर्व धर्मसमभाव तथा समन्वयात्मक संस्कृतिका पक्षधर रहेर नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको श्रीवृद्धिमा उहाँले पुर्याउनुभएको योगदानको कदरस्वरुप यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
यो पुरस्कार पूर्वाञ्चलको भोजपुर, दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म र समाजसेवामा अतुलनीय योगदान पुर्याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं १८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको हो । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
यसैगरी, पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने ‘डण्डपाणि युवा कुमारी स्मृति षडानन्द पुरस्कार’ यस वर्ष खुदुनाबारी–१, साधुटार झापाको श्री शङ्कराचार्य पीठअन्तर्गत वेदवेदाङ्ग संस्कृत पाठशालाका संस्थापक अध्यक्ष, पूर्वीय दर्शनसँग सम्बन्धित वैदिक ग्रन्थहरूको अध्येता र समाजसेवी पण्डित केदारनाथ खतिवडालाई प्रदान गरिने भएको छ ।
भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उहाँहरूका सुपुत्रद्वय निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंद्वारा स्थापित अक्षय कोषबाट प्रदान गरिने यो पुरस्कारको राशि २५ हजार रहेको छ । पण्डित खतिवडा यो पुरस्कारबाट सम्मानित हुने पहिलो व्यक्ति हुनुहुन्छ । रासस
















प्रतिक्रिया