जाजरकोट, ९ कात्तिक । जाजरकोटको सक्ला गाविस–१ लैखममा आज महादेव भैलीको उठान गरिएको छ ।
तिहारको भैली सकिएको एक दिनपछि आज यहाँ महादेव देवताको भैली उठान गरिएको हो ।
सात दिनसम्म चल्ने यो भैलीमा लैखम गाउँका सबै गाउँले जम्मा भई प्रत्येक घरमा भैली खेल्ने गरिन्छ । भैलीबाट अन्न उठाएर जम्मा गरिने चलन रहेको स्थानीय जयबहादुर खत्रीले जानकारी दिए ।
यसरी जम्मा गरेको अन्न अन्त्यमा सबै गाउँले मिलेर भोज खाने चलन रहेको छ । महादेव देवताको भैलीमा प्रत्येक टोलीमा १६ जना हुने गर्दछन् । तीन भागमा बाँडिएको यो टोलीमध्ये एक टोलीले बाटोमा हिँड्ने बटुवासँग भैलो खेली रकम उठाउँछ । बटुवालाई भैली खेल्ने मानिसले लारु, अर्सा दिएर पैसा असुल्ने गर्दछन् ।
अर्को टोली गाउँमा भैली खेल्दै अन्न उठाउने गर्दछ । अन्तिम टोली व्यवस्थापनको काम गर्दै भैली खेल्ने गर्दछ । प्रत्येक दुई वर्षमा महादेवको भैली उठाइन्छ । लैखम गाउँमा पूर्वजकै पालादेखि महादेव देवताको भैली खेल्न थालिएको पूजारी जयबहादुर खत्रीले बताए ।
प्रत्येक दुई वर्षमा एक महिनासम्म विभिन्न विधि प्रक्रिया मिलाएर खेलिने यो भैली नखेलेमा महादेव देवता रिसाएर लैखम गाउँमा भैली भन्दै प्रकट हुने र सबै गाउँलेमाथि अनिष्ट हुने भनाइ रहेको छ ।















प्रतिक्रिया