बुटवल (खस्यौली), २५ असोज । परियोजना निर्माण गर्न अनुमति लिएर काम नगर्ने कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको उद्योगमन्त्री महेश बस्नेतले बताउनुभएको छ ।
नेपालका विभिन्न खानीसम्बन्धी काम गर्नका लागि सरकारसँग अनुमति लिएर काम नगरी होल्डमा राख्ने दुई अन्तर्राष्ट्रिय कम्पनीलाई अनुमति पत्र खारेजीको प्रक्रिया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीबाट सुरु गरिएको बताउँदै उहाँले राष्ट्रिय कम्पनीलाई पनि छानबिनको दायरामा ल्याउने चेतावनी दिनुभयो ।
रुपन्देही उद्योग सङ्घ बुटवलको ३५औँ साधारणसभामा शनिबार उहाँले उद्योगीका समस्या समाधान गर्नका लागि आफू प्रतिबद्ध भएको दाबी गर्दै ऊर्जा सङ्कट समाधानका लागि पनि अनुमति पत्र लिएर बसेकाले तत्काल काम गर्न आग्रह गर्नुभयो ।
उहाँले नेपालमा औद्योगिक विकासका सम्भावना थुप्रै रहेको औँल्याउँदै त्यसका लागि सरकारले वातावरण बनाउने काममा प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले औद्योगिक विकासका सम्भावनालाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने हो भने मुलुकको व्यापार घाटा घटाउनसकिने बताउनुभयो ।
कार्यक्रममा उद्योग सचिव उत्तमकुमार भट्टराईले मुलुकले गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको ३२.१ प्रतिशत व्यापार घाटा व्यहोर्नु परेको तथ्याङ्क प्रस्तुत गर्दै सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने रणनीति अख्तियार गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा उद्योगी व्यवसायीले उद्योग तथा व्यापार मैत्री वातावरण बनाउन सरकारसँग माग गरेका थिए ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग सङ्घका अध्यक्ष बोनिन पीयाले मुलुकमा ऊर्जा सङ्कटका कारण सञ्चालित उद्योग धन्दा धरासायी भएको बताउँदै चाँडो ऊर्जा सङ्कट समाधान गर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया