तारक केसी
रुकुम, २४ असोज । रुकुम खाराकी पार्वती खड्काले यो उमेरमा छोराछोरीले गर्ने स्याहार सुसारमा दिन बिताउनुपर्ने हो तर अवस्था भने ठीक उल्टो छ ६८ वर्षीय ढल्कँदो उमेरमा ।
उनको आशा र चाहानामा बज्रपात पारेको छ २०५६ फागुनमा प्रहरीद्वारा गरिएको कारबाहीमा ।
परिवारका अन्य सदस्यको माया र सद्भावमा जीवन धान्ने उमेरमा साना टुहुरा नातिनीको सहारा आफैँले गर्र्न पर्ने अभिभारा आएको छ उनको काँधमा ।
मेरा आमा र बुबा खोई ? नातिनीका यस्ता अनुत्तरित प्रश्नले पार्वतीलाई अझ बढी पीडा हुने गर्छ ।
न जागिर छ न घरमा भरिलो मान्छे छ आफैँ डाँडा पारीकी जुन बनेकी रुकुम खारा– ५ पोखरीकी पार्वती खड्काले अहिले आफ्नो बुढेसकालको समय बेसाहारा नातिनीको स्याहार सुसारमा खर्चेकी छिन् ।
बुढेसकालमा आफैँ बेसाहारा भएकी पार्वती अरुको स्याहारमै दुःखद् दिनहरु बिताइरहेकी छिन् । उनी ज्यालादारी काम गरेर आफ्नो र नातिनीको जीविका चलाउँदै आएकी छिन् । उनको घरमा नातिनीबाहेक अरु परिवार नै छैन ।
विसं २०५६ फागुन १० गते प्रहरीद्वारा गरिएको कारबाहीमा उनकी बुहारी देउरुपी खत्रीसहित १५ जना मारिएका थिए ।
खारामा धेरैको अवस्था बिजोग छ । धेरै महिलाको सिउँदोमा सिंदुर छैन । बालबालिका टुहुरो अवस्थामा छन् । यस्तै द्वन्द्वपीडित एकल महिला रामकली खड्काको श्रीमान् लक्ष्मी खड्काको पनि त्यति बेला प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो ।
लक्ष्मी खड्का फागुन १३ गते बहिनीको विवाह सकेर रोजगारीका लागि भारत जाने तयारीमा थिए । भारतबाट आएको चार महिना पनि बितेको थिएन । फागुन १० गते घर नजिकैको जङ्गलमा घाँस काट्न गएको समयमा हत्या भएको थियो ।
द्वन्द्वपीडितलाई विशेष राहत, विकासका पूर्वाधारको व्यवस्था आदि कुरा नमुना बस्तीमा लैजाने सरकारको प्रस्ताव थियो । तर खारामा सडक खन्ने काम बीचमै अलपत्र परेको छ । अन्य कामहरुमा केही घरमा शौचालयबाहेक अरु राहतका काम अगाडि बढेका छैनन् ।
सरकारले थोरै मात्रामा दिएको राहत खाराका पीडितलाई ‘हात्तीको मुखामा जिरा’ जस्तै भएको छ । सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट ६८५ ले ज्यान गुमाएको पहिचान भइसकेको स्थानीय शान्ति समिति रुकुमको विवरणमा उल्लेख छ ।
जसमध्ये हालसम्म ६६७ जनाका परिवारले मात्र शान्ति मन्त्रालयले उपलब्ध गराएको रु एक लाखदेखि तीन लाखसम्म राहत पाएका छन् । दलहरुको आन्तरिक विवादका कारण पीडितले समयमै राहत पाउन नसकेको स्थानीय शान्ति समिति रुकुमका संयोजक मुकुन्दबहादुर शाहले बताउनुभयो ।
जिल्लाका खारा, स्यालापाखा, महत, पिपललगायतका केही गाविसमा राज्य र विद्रोही पक्षबाट ठूलो धनजनको क्षति भएको भन्दै उक्त गाविसमा अन्य विकास निर्माणका कामलाई पनि प्राथमिकता दिइएको संयोजक शाहले बताउनुभयो ।















प्रतिक्रिया