पर्वत, १६ असोज । नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा जमरा रोपण तथा सजावट प्रतियोगिता सम्पन्न भएको छ ।
पर्वत मिलन महिला समूह र पर्वत मिलन क्लबको आयोजनामा भएको प्रतियोगितामा जमरा सजाउनका लागि निश्चित नियमहरूसमेत बनाइएको थियो ।
जिल्लामै पहिलोपटक यस्तो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा जमुना प्रधान प्रथम, लक्ष्मण श्रेष्ठ द्वितीय, रत्नकुमारी श्रेष्ठ तृतीय र विष्णुकुमारी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।
प्रतियोगितामा प्रथमले तीन हजार, द्वितीयले दुई हजार, तृतीयले एक हजार र सान्त्वना स्थान प्राप्त गर्नेले ५०० र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार राशिको सहयोग भने पर्वत मिलन क्लबका संस्थापक कलाकार शङ्कर लामिछानेले गर्नुभएको थियो ।
खासगरी दसैँमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइने गरिन्छ । विजयादशमी र जमरालाई नेपाली संस्कृति एवम् परम्पराका परिपूरक पनि मानिँदै आएको छ ।
पुरस्कार वितरण कार्यक्रममा पर्वत मिलन क्लबका संस्थापक अध्यक्ष तथा चलचित्र निर्देशक गोपालचन्द्र लामिछानेले जमराको ऐतिहासिक महत्व रहेको बताउँदै परम्परा र संस्कृतिको संरक्षणका लागि गरिएको यस्तो कार्यको प्रशंसासमेत गर्नुभयो । पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष हरिओम लामिछानेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
















प्रतिक्रिया