
विराटनगर, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उच्च्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष बनाउन नसकिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले सहमति र सम्झौताको लागि राजनीतिक संयन्त्रको निर्माण हुन लागेकाले बालहठको आधारमा एकीकृत नेकपा माओवादीका अध्यक्षलाई संयन्त्रको अध्यक्ष पद दिन नसकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले संविधान निर्माण कार्यलाई असफल बनाउन केही दलहरु लागि परेको बताउँदै नेकपा एमाले र नेपाली काँग्रेस सवल ढङ्गले लोकतान्त्रिक संविधान बनाउन सक्षम रहेको बताउनुभयो ।
एक प्रश्नको जवाफमा उहाँले पार्टीको नीतिअनुसार सबैलाई मिलाएर लान केही समय लाग्ने छ भन्नुभयो । दलहरुबीच सहमति नभए दुई तिहाइ बहुमतद्वारा तोकिएको समयमा लोकतान्त्रिक संविधान जारी हुने ओलीको कथन छ । दलहरु बीच सहमतिका लागि अधिकतम लचकता अपनाउने अन्यथा अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्वाचित जनप्रतिनिधिद्वारा दुई तिहाई बहुमतबाट सङ्घिय गणतान्त्रिक संविधान जारी हुने उहाँले दावी गर्नुभयो ।
अध्यक्ष ओलीले संविधान जारी हुनुभन्दा अगाडि सरकार पुनःगठन नहुने बताउँदै यस सम्बन्धमा नेकपा एमालेले ध्यान नदिएको उल्लेख गर्नु भयो ।
यसैगरी स्व देवीप्रसाद उप्रेती निजानन्द आश्रम कनकाई नगरपालिका–९ घैलाडुब्बा झापाले बुधबार आयोजना गरेको स्व देवीप्रसाद उप्रेतीको शालिक अनावरण तथा सम्मान कार्यक्रमपछि पत्रकारहरुसँग कुराकानी गर्दै एमालेका अध्यक्ष ओलीले संविधान बनाउन नचाहने शक्तिसँग मोर्चाबन्दी गरेर माघ ८ मा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान बनाउन नदिने खेलमा लागेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, नेकपा एमाले सकेसम्म सहमतिको आधारमा संविधान बनाउन चाहन्छ, तर एमाओवादी सहमतिमा नआए विश्वव्यापी मान्यता अनुरुपको प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुभएको विकल्प छैन ।















प्रतिक्रिया